मुगुमा ३ महिनापछि हवाई सेवा
२४ असार २०७७, बुधबार २०:५३मुगु । कोभिड–१९ को कारणले देश बन्दाबन्दी हुँदा विगत ३ महिनापछि मुगुमा हवाई सेवा शुरु भएको छ । हाल नेपालमा हवाई सेवा खुल्ला नगरेको भएपनि दुर्गम तथा हिमाली जिल्लामा संचालन हुँदै आएको सतही मार्ग वर्षाले हिलाम्य बनेपछि विकल्पको रुपमा यात्रुको समस्यालाई मध्यनजर गर्दै सीता एयर प्रालिले नेपाल सरकार गृह मन्त्रालयको स्वीकृति लिई बुधवारबाट रारा विमानास्थलमा चार्टर उडान शुरु गरेको छ । प्रतिनिधि सभाका सदस्य गोपाल बहादुर बमको पहल र रारा एड्भेन्चर प्रालि र सिता एयरको सहकार्यमा १० वटा उडानको स्वीकृति लिएको बताईएको छ ।
जहाजमा यात्रा गर्ने यात्रुले मास्क अनिवार्य सहित पिसिआर वा आरडिटि परीक्षण गरि नेगेटिभ रिर्पोट आएको हुनु पर्ने छ । कोरोना परीक्षणका लागि काठमाडौंको शुक्रराज टर्पिकल अस्पताल टेकु, भेरी अस्पताल नेपालगञ्ज र जिल्ला अस्पताल मुगुमा निर्धारित शुल्क तिरी परीक्षण गर्ने व्यवस्था मिलाईएको छ ।
आज सीता एयरले नेपालगञ्जबाट रारा विमानास्थलमा भरेको उडानमा १ जना बालक सहित १७ जना यात्रु र फर्कदा १ जना यात्रुले यात्रा गर्नु भएको रारा नागरिक उड्डयन कार्यालय ताल्च मुगुका सहायक प्रमुख किरण दाहालले बताउनु भयो ।
स्वीकृति प्राप्त १० वटै उडान चार्टर भएका र यात्रुलाई सामाजिक दुरी कायम गरि उडान गर्नु पर्ने भएकोले प्रति यात्रु एकतर्फि रु १० हजार भाडा दर कायम गरिएको बताईएको छ ।
दुवै तर्फ यात्रा गर्ने यात्रीका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट पिसिआर र आरडिटि रिर्पोट पेश गरि गृह मन्त्रालयको स्वीकृति भएपछि मात्र यात्राको व्यवस्था मिलाईने रारा नागरिक उड्डयन कार्यालय ताल्च मुगुका प्रमुख मोहन गिरिले बताउनु भयो ।