सोमवार, कार्तिक १०, २०७७

कोरोना विरुद्धको लडाईमा अन्तिमसम्म उत्साहपूर्वक उत्रनुपर्छ – मुख्यमन्त्री शाही

१५ असार २०७७, सोमबार १५:५४
खबरइरा संवाददाता

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले कोरोनाको लडाई नसकिएको भन्दै नथाकेरै लडन निर्देशन दिनुभएको छ । सोमवार मुख्यमन्त्री शाहीको अध्यक्षतामा बसेको प्रदेश विपद व्यवस्थापन केन्द्रको बैठकलाई सम्बाेधन गर्दै कोरोना विरुद्धको लडाईमा अन्तिमसम्म पनि उत्साहपूर्वक उत्रनुपर्ने धारणा राख्नुभयो ।

मुख्यमन्त्री शाहीले भारतवाट प्रदेश भित्रिने चाप घटदोक्रममा रहेको बताउँदै अव समुदाय स्तरमा केन्द्रीत हुनुपर्ने बताउनुभयो । कोरोनाको अति प्रभाव देखिएका ३ जिल्लामा समुदायस्तरमा पनि कोरोनाको संक्रमण पुगेको हुनसक्ने बताउँदै मुख्यमन्त्री शाहीले रोकथाम र नियन्त्रणका लागि परिक्षणमा जोड दिनुभयो ।

सुर्खेत, दैलेख र सल्यानमा लकडाउनलाई अझै पनि प्रभावकारी बनाउनुपर्ने बताउँदै मुख्यमन्त्री शाहीले सुरक्षा मापदण्डलाई कडाई पूर्वक कार्यान्वयन गराउन सुरक्षा प्रमुखहरुलाई निर्देशन गर्नुभयो । मुख्यमन्त्री शाहीले परिक्षणमा निकै ढीलासुस्ती भएको बताउँदै परिक्षण कार्यलाई तिव्र बनाउनुपर्नेमा जोड दिनुभयो ।

परिक्षणकोलागि नमुना संकलन गरेको १ महिनासम्म पनि रिपोर्ट नआउदा नागरिकमा आक्रोश बढेको बताउँदै मुख्यमन्त्री शाहीले कारण देखाएर पन्छिन नमिल्ने बताउनुभयो । प्रदेश अस्पत्तालमा रहेको पिसिआर मेशिनको मर्मतको व्यवस्था तत्काल गर्न निर्देशन गर्दै मुख्यमन्त्री शाहीले मेशिन विग्रियो भनेर बस्ने होईन विकल्पको खोजी गर्नुपर्नेमा जोड गर्नुभयो ।

मुख्यमन्त्री शाहीले भारतवाट आउनेहरुको संख्या घटदै गएकोले जिल्ला स्तरवाटै व्यवस्थापन गर्न सकिने वताउदै क्वारेन्टाईनलाई अव जिल्ला स्तरमा केन्द्रीत गर्नुपर्ने बताउनुभयो । उहाँले क्वारेन्टाईनका लागि प्रयोग भएका स्थानीय स्तरका विद्यालय तथा सार्वजनिक संस्थाका भवनहरु खाली गर्नुपर्ने बताउनुभयो । जिल्ला विपद व्यवस्थापन केन्द्रको सिफारिसमा कोरोनाको प्रभाव नदेखिएका क्षेत्रमा लकडाउनलाई खुकुलो बनाउँदै लगिने उहाँले बताउनुभयो ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
1 Shares
Tweet
Pin
Share