आइतवार, कार्तिक १६, २०७७

कर्णाली र सुदूरपश्चिमलाई बजेटले न्याय गर्न नसकेको गुनासो

१ असार २०७७, सोमबार १७:१८
रासस

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदले पछाडि परेको कर्णाली र सुदूरपश्चिम प्रदेशलाई आगामी आवको बजेटले पनि न्याय गर्न नसकेको टिप्पणी गर्नुभएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७७ का विभिन्न शीर्षकमध्ये ११ मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा सहभागी हुँदै सत्तारुढ दलका सांसद महेशकुमार महराले आगामी आवमा पनि कर्णाली र सुदूरपश्चिममा न्यायोचित र सन्तुलित बजेट विनियोजन नभएको बताउनुभयो । कर्णाली र सुदूरपश्चिमको विकास बिना ‘समृद्ध नेपाल, सुखी नेपाली’को परिकल्पना गर्न नसकिने भन्दै उहाँले विगतदेखि पछाडि पारिएको कर्णाली र सुदूरपश्चिम प्रदेशलाई आगामी आवको विनियोजन विधेयकले पनि उचित ध्यान दिन नसकेको गुनासो गर्नुभयो ।

“महाकाली कोरिडोरका लागि पहिलो वर्ष पनि रु ३२ करोड, चालू आवमा पनि रु ३२ करोड र आगामी आवका लागि पनि रु ३२ करोड विनियोजन गरिएको छ । यो आयोजना कहिले सम्पन्न हुन्छ, अध्यक्ष महोदय ?”, पछिल्लो तीन वर्षको बजेटको दृष्टान्त पेश गर्दै उहाँले भन्नुभयो, “त्यतिमात्र होइन, विपीनगर–दिपायल–खुटिया सुरुङ मार्ग निर्माण गर्न तीन आवमा रु ५०÷५० लाख विनियोजन गरिएको छ, यसको सम्भाव्यता अध्ययन कहिलेसम्म गरिसक्ने ?” सरकारले पर्याप्त बजेट विनियोजन नगर्दा ति आयोजना कहिले ठेक्का लाग्ने र कहिले सम्पन्न हुने हो भन्ने अन्योलता छाएको उहाँले बताउनुभयो ।

“बजेटको रुपमा हेर्दा केही सम्बोधन गरेको जस्तो देखिएको छ”, उहाँले भन्नुभयो, “तर केलाएर हेर्दा सार पक्षमा विगत र वर्तमानमा केही फरक पाइएन ।” नेकपाकै नन्दा चपाईं बजेट विगतजस्तै भएको र कर्णाली तथा सुदूरपश्चिम क्षेत्रको विकासलाई ध्यान नदिएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, “बजेट असन्तुलित र मन्त्री केन्द्रित छ । आफ्नै पार्टीको सरकार छ, दुःखका साथ भन्नुपर्छ, ‘मुटु माथि ढुङ्गा राखी हास्नु प¥या छ’ ।” नेकपाकै सांसद भैरवसुन्दर श्रेष्ठले भने सडक पूर्वाधार विकासमा बजेटले पर्याप्त ध्यान दिएको र विशेष गरी कर्णाली र सुदूरपश्चिम प्रदेशलाई बजेटले न्याय गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “कर्णाली प्रदेश, राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ, भेरी करिडोर र कर्णाली करिडोरलाई भौतिक मन्त्रालयले विशेष बजेट विनियोजन गरेको छ ।

पूर्वपश्चिम राजमार्गलाई एशियाली मापदण्ड (चार लेन) को बनाउन बजेट विनियोजन हुनु सुखद पक्ष हो ।” नेकपाका अगमप्रसाद बान्तवा राईले बजेट समग्रमा राम्रो भएपनि यसको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभयो । सोही पार्टीका खिमकुमार विकले बजेट केही कुरामा प्रभावमुखी रहेपनि समग्रमा सन्तुलित र समय सान्दर्भिक रहेको बताउनुभयो । उहाँले कर्णालीको विकास र समृद्धिलाई बजेटले प्राथमिकता दिएको भन्दै बजेट कार्यान्वयनका लागि क्रियाशिल पूँजीगत क्षमता वृद्धि गरिनुपर्नेमा जोड दिनुभयो ।

नेकपाका कविता बोगटीले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा न्यायोचित बजेट विनियोजन भएको तथा एकल महिलाको सामाजिक सुरक्षा, सडक बालबालिकाको संरक्षणलगायत क्षेत्रमा पनि बजेटले सम्बोधन गरेको उल्लेख गर्नुभयो । सोही पार्टीका नैनकला ओझाले समृद्धिको आधारको रुपमा रहेको भौतिक पूर्वाधारका लागि पर्याप्त बजेट विनियोजन भएको बताउनुभयो । उहाँले रेल र पानी जहाजको कुरा उठेको लामो समय भइसकेकाले अब बजेटमार्फत ती आयोजनाले सार्थकता पाउनुपर्नेमा जोड दिनुभयो ।

नेकपाकै रामलखन चमारले समृद्ध नेपाल सुखी नेपालीको चाहनालाई सार्थक बनाउने गरी बजेटमा व्यवस्था भएको उल्लेख गर्नुभयो । राष्ट्रियसभाको अर्को बैठक यही असार २ गते बिहान ११ बजे बस्नेछ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
1 Shares
Tweet
Pin
Share