२७५५ जनाको पिसिआर रिर्पोट नेगेटिभ
१० जेष्ठ २०७७, शनिबार १५:५९मुगु । कर्णाली प्रदेशको जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा परीक्षण गरिएका सबै स्वाबको रिर्पोट नेगेटिभ आएको छ । साविक कर्णाली अञ्चलका हुम्ला, मुगु, जुम्ला र कालीकोट जिल्लाबाट बिभिन्न समयमा संकलन गरेर परीक्षण गरिएका २७५५ जनाको पिसिआर रिर्पोट नेगेटिभ रिर्पोट आएको कर्णाली स्वास्थ्य बिज्ञान प्रष्ठिान जुम्लाका निर्देशक डाक्टर मंगल रावतले जानकारी दिनु भयो ।
पछिल्लो समयमा भारत लगायत अन्य देशहरुबाट मानिस धमाधम जिल्लामा भित्रिन थालेपछि परीक्षणको दायरा फराकिलो गरी रोग फैलिन नदिनका लागि चिकित्सक सहित स्वास्थ्य कर्मीहरुको टोली जिल्लाहरुमा खटाई स्वाब स्ंकलन गरिरहेको थियो ।
परीक्षणको प्रतिवेदन अनुसार प्रतिष्ठानका ४ सय २४, कालीकोटबाट ६ सय ९५, मुगुबाट ३ सय ५१, जुम्लाबाट ७ सय ८९, नेपाली सेना ७०, हुम्लाबाट ४ सय ८ र पत्रकार १८ जना गरी २७ सय ५५ जनाको पिसिआर रिर्पोट नेगेटिभ आएको प्रतिष्ठानले जनाएको छ ।
जिल्लाका बिभिन्न स्थानमा स्वाब संकलन केन्द्र स्थापना गरी संकलित स्वाबलाई हवाई तथा स्थलमार्गबाट जुम्ला ल्याई पिसिआर परीक्षण गरिदै आएको हो ।