आइतवार, माघ ४, २०७७

सीमामा अलपत्र नेपालीलाई भित्र्याउन सांसदको माग

२९ बैशाख २०७७, सोमबार १२:३५

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा भारतको सीमामा अलपत्र नेपालीलाई भित्र्याउने सम्बन्धमा सरकारले गम्भीरताका साथ चासो दिनुपर्ने आवाज उठेको छ ।

बैठकको शून्य समयमा सांसदहरुले कोरोना भाइरसको जोखिम र मजदूरी कामसमेत प्रभावित भएका बेला स्वदेश फर्कन चाहने नेपालीलाई स्वास्थ्य परीक्षण गरी क्वारेन्टाइनमा राख्ने गरी नेपाल ल्याउन माग गर्नुभएको हो ।

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सांसद डा अमरेशकुमार सिंहले प्रश्न गर्दै भन्नुभयो, “के सीमा बसेका नेपाली नागरिक होइनन् ? तिनलाई स्वदेश ल्याउनु सरकारको दायित्व होइन ?” तर सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद खेमप्रसाद लोहनीले कोरोना रोकथाममा सरकारको प्रयास प्रशंसनीय भएकाले सीमा नाकामा अझै कडाई गर्नुपर्ने र विदेशमा रहेका नागरिकको उपचारमा आवश्यक पहल गर्न आवश्यक रहेको बताउनुभयो ।

काँग्रेसका सांसद गगन थापाले सरकारले जनताको व्यथालाई ध्यान नदिएको भन्दै व्यङ्ग्यात्मक बाल कवितामार्फत् आलोचना गर्नुभयो । राष्ट्रिय जनता पार्टीका सांसद चन्दा चौधरीले भारतको विहार राज्यमा १४ दिन क्वारेन्टाइनमा बसिसकेका नेपालीलाई पनि नेपाली सीमामा आफ्ना नागरिकलाई आउन नदिनु कहाँको नियम हो भनी प्रश्न गर्नुभयो । काँग्रसका सांसद उमा रेग्मीले सीमामा आएका नेपालीलाई स्वास्थ्य जाँच गरेर स्वदेश फर्काउन माग गर्नुभयो ।

नेपाली भूमिको रक्षामा एकताबद्ध हुन आग्रह

सत्तारुढ नेकपाका खगराज अधिकारीले नेपाली भूमि बारम्बर विदेशी हस्तक्षेपको सिकार भएकामा सरकारको ध्यानाकर्षण गराउनुभयो । नेपाली भूमि लिपुलेकमा भारतले सडक बनाएकामा खेद व्यक्त गर्दै उहाँले यसका विरुद्ध सबै नेपाली एक भएर लड्नुपर्ने बताउनुभयो । सोही पार्टीका गणेशकुमार पहाडीले पनि भारतले अतिक्रमण गरेको भूमिमा नेपालको राजनीतिक र प्रशासनिक भूमिका हुनुपर्ने बताउनुभयो । सांसद गणेशसिंह ठगुन्नाले दार्चुलाको पौलामा सशस्त्र प्रहरीको क्याम्प तत्काल राख्न माग गर्नुभयो ।

सांसद गङ्गा चौधरी सत्गौवाले नेपाली भूमि मिचिएकामा स्वाभिमानी नेपालीले सहन नसक्ने भन्दै भारतको यो व्यवहारविरुद्ध अन्तरराष्ट्रिय अदालतमा जानुपर्ने बताउनुभयो । सांसद घनश्याम खतिवडाले जङ्गे पिलरका नामबाट पटकपटक भारतले नेपाली भूमि अतिक्रमण गरेको र अर्काे छिमेकी चीनले पनि यसमा उचित व्यवहार नगरेको बताउनुभयो ।

सांसद जिपछिरिङ लामाले भारतले ठूलो भाइको शैलीले जहिल्यै पनि नेपाललाई हेप्दै आएको उल्लेख गर्दै सरकार र नेतालाई भारतीय मिचाहापूर्ण कार्यबारे थाहा छ कि छैन भनी प्रश्न गर्नुभयो ।

सांसद उमाकान्त चौधरी सरकारले दुई अध्यादेश किन ल्याइयो र किन फिर्ता गरियो भन्ने थाहा हुनुपर्ने माग गर्नुभयो । सांसद गजेन्द्रबहादुर महतले बन्दाबन्दीका समयमा प्रमुख जिल्ला अधिकारीले आफू्खुशी पास वितरण गरेको र सांसदहरुलाई समेत कठिनाइ सिर्जना गरेको गुनासो गर्नुभयो ।

सांसद आशाकुमारी विकले गण्डकी प्रदेशसभा सदस्य कृष्णबहादुर थापाले जातीय विभेद उत्पन्न हुने गरी अभिव्यक्ति दिएकाले थापालाई कारवाही गर्न माग गर्नुभयो । बैठकमा पूर्वबजेट छलफलअन्तर्गत आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) सम्बन्धमा छलफल शुरु भएको छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
1 Shares
Tweet
Pin
Share