थर्मलगन सहयोग
२० बैशाख २०७७, शनिबार २१:१०सुर्खेत । कर्णाली प्रदेश समाज दक्षिण कोरियाले कर्णाली प्रदेश सरकारलाई ११० थर्मलगन सहयोग गरेको छ ।
रोजगारीका निम्ति प्रवासिएका कर्णाली प्रदेशका नागरिकको सामूहिक प्रयत्नबाट उठेको रकमले ११० थर्मलगन खरिद गरी समाजले प्रदेश सरकारलाई सहयोग गरेको हो । समाजका सुर्खेत संयोजक एवं पत्रकार नगेन्द्र उपाध्यायले सहयोग गरिएका थर्मलगन आज मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई हस्तान्तरण गर्नुभयो ।
संयोजक उपाध्यायका अनुसार कर्णालीबाट दक्षिण कोरियामा वैदेशिक रोजगारी गरिरहनुभएका समाजका अध्यक्ष पदमबहादुर बस्नेत नेतृत्वको टोलीले त्यहीँबाट स्वास्थ्य सामग्री पठाएको हो । उक्त थर्मलगन ग्रहण गर्दै मुख्यमन्त्री शाहीले रोजीरोटीको खोजीमा विदेशिएका कर्णालीका नागरिकको राष्ट्र र प्रदेशप्रति प्रेमले राष्ट्रियताबारेमा सबैलाई शिक्षा दिएको बताउनुभयो ।
मुख्यमन्त्री शाहीले भन्नुभयो, “यो सङ्कटका बेला उहाँहरुले आफ्नो दुःखबाट आर्जेको केही रकम कटाएर कर्णाली सरकारसँग हातेमालो गर्नुभएको छ, विदेशमा दुःख गरेको कमाइबाट आफ्नो देश र माटोप्रति माया गर्ने दक्षिण कोरियामा रोजगार गरिरहनुभएका सबै कर्णालीवासी नागरिकप्रति हार्दिक कृतज्ञता प्रकट गर्दछु ।”
सामाजिक विकासमन्त्री दल रावलले कोभिड–१९ को प्रकोप रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामग्री सहयोग गर्ने समाजलाई धन्यवाद ज्ञापन गर्नुभयो । कर्णालीका १० जिल्ला अस्पताल, ७९ स्थानीय तह र बाँकी सबै प्रदेशको सीमा नाकामा स्थापना गरिएका हेल्थडेस्कमा पुग्ने गरी थर्मलगन सहयोग गरिएको समाजका संयोजक उपाध्यायले बताउनुभयो । उहाँका अनुसार उक्त स्वास्थ्य सामग्री पुगे÷नपुगेको अनुगमन पनि समाजको अनुगमन समितिले गर्नेछ । रासस