सोमवार, साउन १८, २०७८

कोभिड–१९ को महामारीलाई साहसका साथ पार लगाइने छ : प्रधानमन्त्री

१ बैशाख २०७७, सोमबार १५:२५

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच वर्षअघिको भूकम्पलाई हामीले एक भएर सामना गरेको कोभिड–१९ को महामारीलाई पनि धैर्य र साहसका साथ पार लगाइने बताउनुभएको छ । नयाँ वर्ष २०७७ सालका अवसरमा आज बिहान सन्देश दिँदै उहाँले देशभित्र र बाहिर रहनुभएका सबै नेपाली दिदीबहिनी दाजुभाइ तथा परिवारजन र आफन्तलाई कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन तथा सङ्क्रमितलाई यसमाथि विजय हासिल गर्न शुभकामना दिनुभएको छ ।

कोरोना भाइरसको विश्व महामारीबाट सिङ्गो मानव जातिसहित हामी नेपाली पनि छिट्टै मुक्त हुन सकौँ भन्ने कामना पनि उहाँले गर्नुभएको छ । हामीले एउटा भिन्न प्रकृतिको असहज परिस्थितिबीच नयाँ वर्षको आगमनलाई स्वागत गरिरहेकोे बताउँदै उहाँले भन्नुभयो, “पुरानो वर्षलाई बिदा गर्ने र नयाँ वर्षलाई स्वागत गर्ने यो घडी वास्तवमा उल्लास र उमङ्गको पर्व हुनुपर्ने थियो, समीक्षा र नयाँ सङ्कल्पको अवसर हुनुपर्ने थियो तर यस नयाँ वर्षलाई हामी साह्रै अप्ठ्यारो परिस्थितिमा स्वागत गर्दैछौँ ।” कोभिड–१९ को महामारी र सङ्मक्रमणको यस घडीमा हामीभित्रको मानवीय भावनाले हामीलाई अझ दह्रो गरी जोडिरहेको पनि उहाँले बताउनुभएको छ ।

सन्देशमा भनिएको छ, “कोभिड–१९ ले मानवीय भावनाले हामीलाई अझ दह्रो गरी जोडिरहेको छ । सिङ्गो नेपाली समुदाय राष्ट्रिय एकताको भावनात्मक एकतामा अझ घनिष्ठरुपमा आबद्ध भएको छ तर भौतिकरुपले भन्ने हो भने चाहिँ हाम्रो सामाजिक सम्बन्ध जोड्ने धागो टुटेको छ । सिङ्गो विश्वको अर्थव्यवस्थालाई गतिशील बनाइराख्ने उत्पादन प्रणालीको कडी टुटेको छ । अन्योल र भयको कहालीलाग्दो अवस्थाबाट अहिलेको समय गुज्रिरहेको छ ।”

कोरोना भाइरसविरुद्धको जारी ‘युद्ध’को अगुवाइ सरकारले गरिरहेको बताउँदै उहाँले सन्देशमा दुःखका पलमा हामीले नेपालीको हौसलापूर्ण साथ, सहयोग र सद्भाव पाएको तथा आगामी दिनमा पनि सरकारलाई सम्पूर्ण देशवासीको निरन्तर साथ रहने विश्वास व्यक्त गर्नुभएको छ ।

सन्देशमा उहाँले हामीले यो युद्ध जित्नका लागि त्यसबेलाको भन्दा भिन्न ‘युद्धका नियम’हरु पालना गर्नु आवश्यक रहेको बताउनुभयो । “यस युद्धमा ‘दूरीमा शक्ति’ छ, दूरीबाट नै हाम्रो एकता प्रदर्शित हुन्छ भन्ने जस्तो नियमको पालना गर्नुपर्ने अनौठो अवस्था आएको छ । एक्लाएक्लै उभिँदै सामाजिक दूरी कायम राखेर अदृश्य शत्रु–कोरोना भाइरसलाई छल्नुपर्छ भन्नेमा हामी सचेत हुनुपर्छ”, उहाँले भन्नुभएको छ, “अहिले जो जहाँ छ, त्यहीँ रहने, स्वास्थ्यकर्मीले दिएका सुझाव र सरकारले जारी गरेका निर्देशनको पालना गर्दै स्व–अनुशासनमा रहने र कोरोना भाइरसको चक्र समाप्त हुने अवधिसम्म धैर्यका साथ पर्खिने नीति अपनाउनु अपरिहार्य छ ।” उहाँले हरेक अप्ठ्यारोमा मानिस स्वभावैले अत्तालिन्छ भन्दै यस्तो समयमा मनलाई नियन्त्रणमा राख्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले ‘यस महामारीबाट कूल गार्हस्थ उत्पादनको २ देखि ४ प्रतिशतको हाराहारीमा हाम्रो अर्थतन्त्रमा क्षति पुग्ने’ भन्ने विभिन्न क्षेत्रका विद्वान्को विश्लेषणप्रति सरकारको पर्याप्त ध्यान गएको उल्लेख गर्नुभएको छ । सन्देशमा कोरोनापछिको क्षतिको आकलनका लागि सरकारले आपूmसम्बद्ध विभिन्न निकायलाई परिचालन गरिसकेको जनाउँदै उहाँले आउने हप्ता दिनसम्म महामारीको वेगको पूर्वानुमान हुन सक्ने हुँदा समग्र मूल्याङ्कनको प्रक्रिया त्यसपछि मात्रै निष्कर्षमा पुग्ने बताउनुभएको छ ।

“आगामी वैशाख ३ गते लकडाउनको दोस्रो समयावधि पूरा हुन्छ । यिनै दुई दिनको अवधिमा हुने प्रगतिका आधारमा कोरोना–महामारीविरुद्धको हाम्रो नीति कस्तो हुने भन्ने सरकारले निर्णय गर्ने छ”, सन्देशमा उहाँले भन्नुभएको छ, “ढुक्क होऔँ, कस्तै प्रतिकूल अवस्थामा पनि आपूर्ति प्रणालीलाई कमजोर हुन दिइने छैन ।” रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share