घरघरमा पुर्याइँदै ग्यास
२२ चैत्र २०७६, शनिबार १०:५६हेटौँडा । वाग्मती प्रदेशको राजधानी हेटौँडामा खाना पकाउने ग्यासको समस्या समाधान भएको छ । ग्यास उद्योगले आधा ग्यास सिलिन्डर बिक्रीवितरण शुरु गरेपछि ग्यासको अभाव हुने समस्या हटेको बताइएको छ ।
नेपाल आयल निगमको निर्देशनमा प्रत्येक आधा सिलिन्डर ग्यास भरेर मात्र वितरण गरिएपछि हेटौँडा बजारलगायत अन्य बजार क्षेत्रमा पनि ग्यासको समस्या हटेको छ । ग्यास बिक्रेताले ठेलामा राखेर घरघरैमा ग्यास पुर्याएको उपभोक्ताले बताएका छन् ।
हाल हेटौँडामा नारायणी, नेपाल, मनोज, कोशी र त्रिशूल लगायत ग्यास बिक्रीवितरण हुने गरेको छ । कोरोनाको कारणले ग्यास आयात नभई अभावको समस्या हुने आशङ्कामा उपभोक्ताले अत्यधिक सिलिन्डर सञ्चय गरेका कारणले समस्या आएको नारायणी डिलर ग्यासका सञ्चालक रामप्रसाद भण्डारीले बताउनुभयो ।
निगम अमलेखगञ्ज डिपोका प्रमुख भरत रेग्मीले उपभोक्ताको मागअनुसार ग्यास उपलब्ध भइरहेको छ भन्नुभयो । रक्सौल नाकाबाट दैनिक ग्यास बुलेट आउने गरेको उहाँको भनाइ छ । रासस