आइतवार, कार्तिक १६, २०७७

सभापति देउवाद्वारा शेर्माका निधनप्रति दुःख व्यक्त

२९ फाल्गुन २०७६, बिहीबार १६:२८
16 Shares

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पूर्वकेन्द्रीय सदस्य एवं पूर्वस्थानीय विकासमन्त्री पूर्णकुमार शेर्मा (लिम्बू)को निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । नेता शेर्माको यही फागुन २८ गते ललितपुरको निदान अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

सभापति देउवाले आज एक शोक वक्तव्यमार्फत उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । नेता शेर्माको निधनले अत्यन्त दुःखित र स्तब्ध बनाएको उल्लेख गर्दै सभापति देउवाले शेर्माले नेपालको प्रजातान्त्रिक आन्दोलन तथा कांग्रेसको सङ्गठनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको बताउनुभएको छ ।

साथै सभापति देउवाले उहाँको निधनबाट पार्टीले एक निष्ठावान् नेतृत्व गुमाएको र पार्टीलाई अपूरणीय क्षति पुगेको उल्लेख गर्नुभएको छ । शेर्मा विसं २०३६ को जनमत सङ्ग्रहमा बहुदल प्रचारप्रसार समिति पाँचथरको अध्यक्ष र भूपूसांसद गणेशप्रसाद रिजालको सभापतित्वमा रहेको कांग्रेस जिल्ला कार्यसमिति पाँचथरको उपसभापति हुनुहुन्थ्यो । उहाँ विसं २०४८ असार १२ गते राष्ट्रियसभाको सांसद हुनुभएको थियो ।

पार्टीको दशौँ (२०५७) र एघारौँ महाधिवेशन (२०६२) मा कांग्रेस जिल्ला कार्यसमिति पाँचथरको सभापति रहनुभएका शेर्मा दुईपटक कांग्रेस केन्द्रीय सदस्य हुनुभएको थियो । विसं २०४२ को सत्याग्रहमा काठमाडौँमा पक्राउ परी झापा चन्द्रगढी जेलमा छ महिना जेल जीवन बिताउनुभएका स्व शेर्मा २०४६ मा प्रजातन्त्र बहालीका लागि भएको ऐतिहासिक आन्दोलन अघि र त्यसपछिका आन्दोलनका क्रममा पटकपटक प्रहरी हिरासत र जेलजीवन बिताउनुभएको पार्टी कार्यालयले जनाएको छ ।

पाँचथरको साराङडाँडा-७ निगालेमा विसं २००० असोज १२ गते जन्मनुभएका शेर्माका पत्नी, दुई छोरा र पाँच छोरी हुनुहुन्छ । उहाँको पार्थिव शरीर शुक्रबार बिहान ९ः०० देखि ११ः०० बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलिका लागि राखिने काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
16 Shares
Tweet
Pin
Share