शुक्रबार, कार्तिक १४, २०७७

महिला दिवसलाई सचेतना दिवसका रुपमा मनाउन अपिल

२५ फाल्गुन २०७६, आईतवार १८:०३

रुपन्देही । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले यो वर्षको अन्तरराष्ट्रिय महिला दिवसलाई कोरोना भाइरसविरुद्धको सतर्कता र सचेतना दिवसका रुपमा मनाउन अपिल गर्नुभएको छ ।

अन्तरराष्ट्रिय महिला दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले यो वर्ष कोरोना भाइरसको सङ्क्रमणको सम्भावित जोखिमलाई ध्यान दिँदै सरकारले भेला, सभा र सम्मेलन नगर्न आग्रह गरेको जनाउनुभयो । महिला सशक्तीकरण र आत्मसम्मान उत्सवका रुपमा विश्वमा मार्च ८ लाई मनाइने उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले नेपालमा महिला सशक्तीकरण र आत्मसम्मान उत्सव मात्रै नभएर राजनीतिक चेतना र जागरण विस्तारका अवसरका रुपमा मनाइँदै आएको सन्देशमा उल्लेख गर्नुभएको छ ।

“जहानियाँ राणा शासन, निरङ्कुंश पञ्चायती व्यवस्था र शाही शासनको कठिन अवस्थामा प्रजातान्त्रिक अधिकार प्राप्तिका लागि नेपाली महिलाले गरेको सङ्घर्ष निकै अविस्मरणीय छ, ती अध्याँरा र अप्ठ्यारा दिनमा मार्च ८ को विशेष महत्व थियो”, सन्देशमा भनिएको छ । लोकतान्त्रिक आन्दोलनको दायरालाई फराकिलो बनाउन र उत्कर्षमा पु¥याउन महिला दिवसका सन्दर्भमा आयोजना भएका कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको स्मरण गर्दै उहाँले महिलाको सक्रियता, जुझारुपन र अठोटको उहाँले सन्देशमा हार्दिक सम्मान व्यक्त गर्नुभएको छ ।

“अझै नेपाली महिला बोक्सी, छाउपडी र दाइजो जस्ता कुरीतिको शिकार भइरहेका छन्, यस्ता कुरीति हटाउन सबै हातेमालो गरेर अघि बढ्न जरुरी छ”, सन्देशमा उल्लेख गरिएको छ । मुख्यमन्त्री पोखरेलले संविधानको सफल कार्यान्वयन गर्दै समतामूलक नेपाल निर्माणको महाअभियानमा सबै एकताबद्ध भई अघि बढ्नसबै राजनीतिक दल, समुदाय, सङ्घसंस्था र आम नागरिकमा हार्दिक अपिल गर्नुभएको छ । साथै उहाँले महिला दिवसका अवसरमा सबै महिला दिदीबहिनीप्रति सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
3 Shares
Tweet
Pin
Share