शनिबार, फाल्गुन १५, २०७७

कर्णालीमा घट्दै कुष्ठरोगका बिरामी

९ माघ २०७६, बिहीबार १९:५७
12 Shares

सुर्खेत । कर्णाली प्रदेशमा विगतका वर्षभन्दा पछिल्ला वर्षहरुमा कुष्ठरोगका बिरामी घट्दो क्रममा रहेको पाइएको छ । प्रदेशका १० जिल्लाका तथ्यांक अनुसार कुष्ठरोगका नयाँ थपिने बिरामीको संख्या विस्तारै न्यून हुँदै गएको पाइएको हो ।

कर्णालीमा आर्थिक वर्ष २०७४/०७५ मा ११५ जना नयाँ कुष्ठरोगी फेला परेका थिए भने २०७५/०७६ मा ८९ जना नयाँ कुष्ठरोगी फेला परेका छन् ।
६७ औं कुष्ठरोग दिवसका अवसरमा वीरेन्द्रनगरमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रदेश स्वास्थ्य निर्देशनालयले उक्त तथ्याङ्क सार्वजनिक गरेको हो ।

आर्थिक वर्ष २०७५/०७६ जाजरकोटमा १९, जुम्ला ५, हुम्ला २, डोल्पा २, दैलेख ९, कालीकोट ७, मुगु ५, रुकुम पश्चिम ७, सल्यान ११ र सुर्खेतमा २२ गरेर जम्मा ८९ जना कुष्ठरोगका बिरामी फेला परेको स्वास्थ्य निर्देशनालय कर्णाली प्रदेशका कुष्ठरोग अधिकृत पदम केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सुर्खेतमा सबैभन्दा बढी कुष्ठरोगका बिरामी फेला परेका छन् । सुर्खेतमा आर्थिक वर्ष २०७४/०७५ मा २६ जना कुष्ठरोगी फेला परेका थिए । रुकुम पश्चिममा १९ जना फेला पर्दा जाजरकोटमा २०, सल्यानमा २५, मुगुमा ३, कालीकोटमा ९, दैलेखमा १०, हुम्लामा १, जुम्लामा १ नयाँ कुष्ठरोगी फेला परेका थिए ।

कुष्ठरोग सामान्य भइसकेको बताउँदै केसीले कुष्ठरोग बारे जनस्तरमा सचेतनामुलक कार्यक्रम सञ्चालन गर्न जरुरी रहेको बताउनु भयो । कर्णालीमा कुष्ठरोग निराकरण गर्न निर्देशनालयले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उहाँले जनाउनु भयो । उहाँका अनुसार कुष्ठरोग आँखाले देख्न नसकिने माइक्रोव्यक्टेरियम लेप्रे नामक किटाणुबाट लाग्ने गर्दछ ।

कम सर्ने सरुवा रोगमा पर्ने कुष्ठरोगले छाला र नशामा असर गर्ने स्वास्थ्य निर्देशनालयका निर्देशक रिता भण्डारी जोशीले बताउनु भयो । उहाँका अनुसार कुष्ठरोगको लक्षण देखिएमा छालामा असर गर्दा रातो वा हल्का फुस्रो रंङको दाग देखिने, अनुहारमा छाला बाक्लो हुने, गिर्खाहरु देखा पर्ने र स्नायुमा असर गर्दा हातखुट्टामा छुँदा थाहा नपाउने तथा मांशपेशी कमजोर हुने गर्दछन् ।

‘कुष्ठरोगलाई न्यूनिकरण गर्न कुष्ठरोगका बिरामीहरु खुल्नमा डराउनु हुँदैन’ निर्देशक जोशीले भन्नुभयो, ‘जनस्तरमा अझै पनि कुष्ठरोग लागेमा लुकाउने संस्कार कायम रहेकाले सचेतनामूलक अभियान पनि चलाउन आवश्यक छ ।’ कुष्ठरोग भएमा कम किटाणु भएकाले ६ महिना र बढी किटाणु भएकाले एक वर्षसम्म औषधी सेवन गरे निराकरण हुने जोशीले उल्लेख गर्नुभयो ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
12 Shares
Tweet
Pin
Share