सोमवार, फाल्गुन २४, २०७७

अतिक्रमित सरकारी सम्पत्ती खोजी गर्न आग्रह

८ माघ २०७६, बुधबार १९:२०

सुर्खेत । अतिक्रमणमा परेका सरकारी सम्पत्ती खोजी गर्न सरोकारवाला निकायलाई आग्रह गरिएको छ । बुधबार वीरेन्द्रनगरमा आयोजित सरकारी, सार्वजनिक जग्गा संरक्षण जाँचबुझ सम्बन्धी अन्तक्रिया कार्यक्रमका सहभागीहरुले अतिक्रमणमा परेको जग्गा खोजी गरी संरक्षण गर्न आग्रह गरेका हुन् ।
उनीहरुले पहुँचको आधारमा सार्वजनिक जग्गा अतिक्रमण भएको भन्दै यसलाई रोक्न प्रशासन र मालपोत कार्यालयसंग आग्रह गरेका छन् ।

कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति कमलराज रेग्मीले मालपोत कार्यालय र नापी कार्यालयमा भएका कागजातको संरक्षण गर्नुपर्ने बताउनुभयो । अहिले सरकारले हटाउन लागेको वीरेन्द्रनगरमा रत्नराजमार्ग रहेको जग्गा मालपोत कार्यालयबाटै पास भएको भन्दै त्यहाँ बनेका भौतिक संरचनाको बारेमा प्रशासनले सोच्नुपर्ने उहाँले बताउनुभयो ।

नेकपा सुर्खेतका नेता मोहन बडुवालले सुर्खेतमा सुकुम्वासी समस्या धेरै रहेको बताउँदै उनीहरुको पहिचान गरेर उचित व्यवस्थापन गर्न अवश्यक रहेको उल्लेख गर्नुभयो ।

राप्रपा सुर्खेतका उपाध्यक्ष अमृत रानाले राज्यको सार्वजनिक जग्गा हिनामिना गर्नेलाई कारवाही गर्नुपर्ने भन्दै नगरपालिकाले नक्सापास गरेको घर प्रशासनले हटाउन नमिल्ने बताउनुभयो ।

कार्यक्रममा स्थानीय तहका जनप्रनिधिहरुले प्रदेश र संघीय सरकारले आफुहरुलाई अधिकार नदिदाँ समस्या भएको जनाए ।

पञ्चपुरी नगरपालिकाका नगरप्रमुख उपेन्द्र थापाले ठोस नीति नहुँदा आफुहरुलाई काम गर्न समस्या भएको बताउनुभयो ।

सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्रकुमार केसीले स्थानीय तह सञ्चालन ऐनमा २२ वटा अधिकार दिएपनि आफुहरुले त्यसको उपभोग गर्न नपाएको बताउनुभयो ।

अधिवक्ता ध्रुवकुमार श्रेष्ठले मालपोत र नापी कार्यालयलाई जनशक्ती थपेर कामलाई प्रभावकारी बनाउनुपर्नेमा जोडदिनुभयो ।

सरकारी सार्वजनिक जग्गा संरक्षण सम्बन्धी जाँचबुझ आयोगका सदस्य जगत देउजाले सरकारी, सार्वजनिक तथा गुठी जग्गा अतिक्रमण सम्बन्धमा उजुरी दिन सबैलाई आह्वान गर्नुभयो । उहाँले सुकुम्वासी र जग्गा अतिक्रमणको समस्या समाधानको लागि स्थानीय सरकारलाई जिम्मेवारी दिएको बताउनुभयो । जाँचबुझ आयोगले कसैले जग्गा अतिक्रमण र हिनामिना गरेको पाए कारवाही गर्ने उहाँले बताउनुभयो ।

यस्तै प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले सुर्खेतका धेरै सार्वजनिक जग्गा अतिक्रमणमा परेको भन्दै सबैको खोजी गरिने बताउनुभयो । उहाँले अहिले वीरेन्द्रनगर लगायतका क्षेत्रमा रहेको सार्वजनिक जग्गाको खोजी भईरहेको भन्दै स्थानीय तह संग सहकार्य गरेर सबै ठाँउमा अतिक्रमण हटाईने दावी गर्नुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक छविलाल सिग्देल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव राजेन्द्र भारी, नागरिक सरोकार समितिका संयोजक पीताम्वर ढकालले सुर्खेतमा भएका सरकारी अतिक्रमित जग्गा खोजी, नीति गरेर तिनको व्यवस्था गर्न जरुरी रहेको बताउनु भयो ।
कार्यक्रममा राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि, स्थानीय तहका जनप्रनिधि लगायत संघ संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
2 Shares
Tweet
Pin
Share