‘हेल्पिङ बेबी व्रिथ तथा हेल्पिङ मदर सर्भाइभ’ यन्त्र प्रदान
७ माघ २०७६, मंगलवार १९:३२सुर्खेत । नवजात शिशु र आमाको सुरक्षाका लागि स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री वितरण गरिएको छ । सुदूरपश्चिम, कर्णाली र पाँच नम्बर प्रदेशका ४० निजी तथा सरकारी अस्पताललाई नवजात शिशुले जन्मिने वित्तिकै श्वास फेर्न प्रयोग गर्ने यन्त्र र सुत्केरी आमाको रक्तश्राप रोक्न प्रयोग गरिने सामग्री प्रदान गरिएको हो ।
स्वास्थ्य संस्थालाई ७० हजार पर्ने मोडल आमा र तीस हजार पर्ने मोडल शिशुको वितरण गरिएको छ । उक्त मोडलले महिलाको रक्तपात भएको छ वा छैन भन्ने कुरा स्वास्थ्यकर्मीले सुत्केरी महिलालाई सिकाउने र बच्चाको अवस्थाबारे पनि जानकारी छन् ।
‘हेल्पिङ बेबी व्रिथ तथा हेल्पिङ मदर सर्भाइभ’ का लागि स्वास्थ्य सामग्री वितरण कार्यक्रममा बोल्दै कर्णाली प्रदेश सभा सदस्य तथा प्राकृतिक स्रोत समितिका अध्यक्ष अम्मरबहादुर थापाले कर्णालीमा सुत्केरी गराउन हेलिकप्टरबाट उद्धार गर्नुपर्ने अवस्थाको अन्त्य गर्न आग्रह गर्नुभयो । ‘यहाँ दिनहुँ जसो हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार गर्ने गरिएको छ ।’ उहाँले भन्नुभयो, ‘यहाँहरुले सिकेको सीपले स्थानीय तहमै सुत्केरी महिला तथा नवजात शिशुले राम्रो सेवा पाउन सकुन । उनीहरुको ज्यान जोखिममा पर्नबाट बचोस ।’
त्यस्तै प्रदेश सभा सदस्य पदमा खड्काले मातृ मृत्यूदर कम गर्न स्वास्थ्यकर्मीको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । ‘यहाँहरुले जुन तालिम लिनु भएको छ । त्यो तालिमले कर्णालीका कोही पनि नवजात शिशुको ज्यान नगुमोस् ।’ उहाँले भन्नुभयो ‘तपाईहरु फिल्डमा गएर आम जनताको स्वास्थ्य बचाउन लाग्नु होला ।’ उहाँले कर्णालीका आमा तथा नवजात शिशुहरुको अवस्था दयनीय भएको बताउनुभयो ।
नवजात शिशु र आमाको हेरचाह सम्बन्धी (हेल्पिङ बेबी व्रिथ/हेल्पिङ मदर सर्भाइभ) तालिम कार्यक्रम सफा सुनौलो नेपालको आयोजना तथा राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रको सहकार्यमा वीरेन्द्रनगरमा चार दिनसम्म सञ्चालन भएको थियो । तालिममा कर्णाली, सुदूरपश्चिम र पाँच नम्बर प्रदेश भित्रका ८० जना स्वास्थ्यकर्मीको सहभागिता रहेको थियो ।