जनप्रतिनिधि नै बीमा गराउँदैनन्, ‘स्वास्थ्य बीमा’
२६ पुष २०७६, शनिबार १२:२५सुर्खेत । लेकवेशी–१ की देवीसरा ठाडा पत्थरीको समस्या भएपछि दशरथपुर स्वास्थ्य केन्द्रबाट सिफारिस लिएर प्रदेश अस्पताल उपचारका लागि पुग्नु भयो । तर उहाँले त्यहाँ सहजै उपचार पाउन सक्नुभएन । झन्झटिलो प्रक्रियाका कारण एक वर्षपछि मात्रै उहाँको अप्रेशन भयो । ‘पोहोर साल गएकी हुँ,’ उहाँले भन्नुभयो, ‘खै के हो के गरेर एक वर्ष लगाईदिए ।’
चिङगाड गाउँपालिकाका अध्यक्ष देवबहादुर चन्दले बीमा गरेको पैसाले आफ्नो उपचार हुन नसक्ने बताउँनुहुन्छ । ‘कित काठमाडौंं कि त भारत नै गएर उपचार गर्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘सानो बिराम लागे पो बीमा गर्नु, धेरै खर्च हुने बिराम लाग्छ त्यही भएर गर्दैन बिमा ।’ गाउँपालिकाबासीले बीमा गरेपनि सहज रुपमा उपचार नपाएको उहाँको गुनासो छ ।
बीमा कार्यक्रम बारे सचेतना कम हुँदा नागरिक स्वास्थ्य बीमा देखि नै त्रसित छन् । तर अधिकांश सरोकारवालाले नै जानी जानी स्वास्थ्य बीमा गरेका छैनन् ।
सरकारले संचालन गरेको स्वास्थ्य बीमा कर्णाली प्रदेशमा प्रभावकारी बन्न सकेको छैन । आर्थिक अवस्था कमजोर भएका परिवारलाई लक्षित गरि सरकारले कर्णाली प्रदेशका आठ जिल्लामा संचालन गरेपनि स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बन्न नसकेको हो ।
कर्णालीका आठ वटा जिल्लामा लागु भएको बीमा कार्यक्रममा १९ प्रतिशत नागरिक सहभागी भएका छन्भने आठ जिल्लाको १० लाख ६५ हजार ९३ जनसंख्यामध्ये १ लाख ९९ हजार ९ सय ४ जनाले स्वास्थ्य बीमा गरेका छन् ।
स्वास्थ्य संस्थाहरुमा फार्मेसी नहँुदा बीमितहरुले औषधी नपाउने गुनासो आउने गरेको प्रदेश स्वास्थ्य बीमा बोर्डले जनाएको छ । सरकारको महात्वकांक्षी योजना र नागरिकको अपेक्षा ठुलो भएकाले पनि स्वास्थ्य बीमा प्रभावकारी नभएको वोर्डको भनाई छ ।
स्वास्थ्य बीमा बोर्ड कर्णाली प्रदेश कार्यालयका संयोजक अर्जुन पण्डितले स्थानीय र प्रदेश सरकारले समन्वय नगर्दा बीमा कार्यक्रम कतिपय स्थानमा प्रभावकारी हुन नसकेको बताउनुहुन्छ । ‘जनप्रतिनिधि नै बीमा गराउँदैनन्,’ उहाँले भन्नु भयो, ‘आफ्नै कार्यक्रम ठानेर स्थानीय सरकारले पनि काम गर्दिएको भए प्रभावकारी हुने थियो ।’ बीमाबारे प्रचार प्रसार गर्न प्रदेश र स्थानीय सरकारको समन्वय आवश्यक रहेको उहाँले बताउनु भयो ।
संयोजक पण्डितका अनुसार अहिलेसम्म सुर्खेतमा ४१ हजार ४ सय ६०, जुम्लामा ३८ हजार ६ सय ३७, जाजरकोटमा ३५ हजार २९ जनाले बीमा गराएका छन् । यस्तै, रुकुम पश्चिममा ४२ हजार ७ सय ३४, कालिकोटमा ३२ हजार ८७ जना बीमितको संख्या छ । त्यसैगरी, हुम्लामा ५ हजार ७ सय २९, डोल्पामा १ हजार ९ सय ६१ र मुगुमा २ हजार ३ सय ३ जनाले स्वास्थ्य बीमा गराएको संयोजक पण्डितले जानकारी दिनु भयो ।
कर्णाली प्रदेशमा बीमा कार्यक्रम सुरु नभएका दैलेख र सल्यानमा पनि चालु आर्थिक वर्षभित्रै कार्यक्रम सुरु गर्ने तयारी भइरहेको उहाँको भनाइ छ ।
कर्णाली प्रदेश अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डा.डम्मर खड्काले विरामीको उपचार गर्दा चिकित्सकले लेखेको औषधी विमा कम्पनीले स्वास्थ्य संस्थालाई उपलब्ध गराएको औषधी लिष्टमा नहुने भएकाले समस्या आउने गरेको बताउँनु भयो ।