• schedule मङ्लबार, कार्तिक ५, २०७६

    कर्णालीका विद्यालयलाई डिजिटल बनाउँदै प्रदेश सरकार

    १३ आश्विन २०७६, सोमबार ०७:५१

    Sharing is caring!

    सुर्खेत । कर्णाली प्रदेश सरकारले थप २२ वटा विद्यालयलाई डिजिटल विद्यालय बनाउन लागेको छ । विद्यार्थीलाई सूचना प्रविधिको ज्ञानको विकास गराउन तथा नमूना विद्यालयको रुपमा चिनाउने लक्ष्यका साथ प्रदेश सरकारले डिजिटल विद्यालयको अवधारणा ल्याएको हो ।

    प्रदेशका १० वटा जिल्लामा रहेका २२ वटा माध्यमिक तहका विद्यालयलाई डिजिटल विद्यालय बनाउने लक्ष्यका साथ प्रदेश सरकारले नै काम गर्ने भएको छ । अघिल्लो वर्ष २४ वटा विद्यालयलाई डिजिटल बनाइएको थियो । प्रदेश सरकारले निर्वाचन क्षेत्रलाई आधार मानेर विद्यालय छनोट गरेको जनाएको छ ।

    जिल्लामा रहेको विद्यालयको अवस्थालाई हेरेर कार्यविधि बनाउने र त्यसलगतै काम सुरु गर्ने कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । विद्यालयमा विद्युत, इन्टरनेट, भौतिक संरचनाको बारेमा बुझेर एउटा फारम निर्माण गर्ने र त्यसलगतै कार्यविधि बनाउने मन्त्रालयका सूचना अधिकारी कृष्णबहादुर रोकायले जानकारी दिनुभयो ।

    विद्यालय डिजिटल बनाउन सके यस प्रदेशलाई डिजिटल बनाउनमा सहयोग पुग्ने भन्दै सरकारले यो योजना अगाडि सारेको हो । केन्द्र सरकारको डिजिटल नेपाल बनाउने नीति अनुसार ३ सयभन्दा बढी विद्यालय छनोट भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले छनोट गरेका विद्यालय मध्ये कर्णाली प्रदेशका चारवटा विद्यालय पनि परेका छन् । प्रदेशसरकारले छनोट गरेका २२ वटा विद्यालय भित्रका चारवटा विद्यालय पनि केन्द्र सरकारको छनोटमा परेकाले यी विद्यालयका लागि केन्द्र र प्रदेश सरकारको समन्वयमा काम गर्ने सूचना अधिकारी रोकायले जानकारी दिनुभयो ।

    डिजिटल विद्यालयका लागि सुर्खेतबाट ६ वटा विद्यालय छनोट भएका छन् । वीरेन्द्रनगर नगरपालिका वडा नं. १० घुस्राको जनसेवा माध्यमिक विद्यालय, वीरेन्द्रनगर नगरपालिका वडा न ६ को नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, चौकुने गाउँपालिका वडा न ४ को जगनाथ माध्यमिक विद्यालय, वडा नं १० को सरस्वती माध्यमिक विद्यालय, लेकवेसी नगरपालिका वडा नं. ४ को जीवनज्योति माध्यमिक विद्यालय, भेरीगंगा नगरपालिका वडा नं ११ शिखर माध्यमिक विद्यालय रामघाट, छेडागाड ४ जाजरकोटको रामोदय माध्यमिक विद्यालय, छेडागाड नगरपालिकाको जनप्रिय माध्यामिक विद्यालय दशेरा, भेरी नगरपालिका १ शिवशंकर माध्यमिक विद्यालय जक्तिपुर पनि छनोट भएका छन् ।

    यस्तै दैलेखको महावु गाउँपालिका ३ वाँसीको मालिका माध्यमिक विद्यालय, चामुण्डाविन्दासैनी नगरपालिका ३ चामुण्डा माध्यमिक विद्यालय हडाकोट, रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नं. १ जनता माध्यमिक विद्यालय, त्रिवेणी गाउँपालिकाको विद्या विकास माध्यमिक विद्यालय र वाफिकोट गाउँपालिकाको वीरेन्द्र माध्यमिक विद्यालय पनि डिजिटल विद्यालयमा छनोट भएका छन् ।

    यस्तै डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाको सरस्वती माध्यामिक विद्यालय, यस्तै मुगुको मुगम् कार्मारोङ गाउँपालिका वडा न ८ माङग्रीको बुद्ध माध्यमिक विद्यालय, जुम्लाको कनकासुन्दरी गाउँपालिका मालिकावोताको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय तथा कनकासुन्दरी गाउँपालिका कै वडा नं ५ को कोईलीचरी माध्यमिक विद्यालय र गुठिचौर गाउँपालिका वडा न ५ को त्रिभुवन माध्यमिक विद्यालय पनि डिजिटल विद्यालयमा छनोट भएका छन् ।

    यस्तै कालीकोटको सान्नी त्रिवेणी गाउँपालिकाको वडा न २ को मस्टो सरस्वती माध्यमिक विद्यालय, हुम्लाको सर्केगाड गाउँपालिका वडा न ८ को अंशुवर्मा आधारभुत विद्यालय र ताजाकोट गाउँपालिकाको धर्मोदय माध्यमिक विद्यालय पनि डिजिटल विद्यालयमा छनोट भएका छन् ।

    गत आर्थिक वर्षमा २४ वटा डिजिटल विद्यालय बनाउने लक्ष्य राखेको प्रदेश सरकारले यो आर्थिक वर्षमा २२ वटा विद्यालय छनोट गरेको हो ।

    गत आर्थिक वर्षमा प्रदेश सरकारले डिजिटल विद्यालय बनाउने, विद्यालयको संरक्षण र रेखदेखको जिम्मा स्थानीय तहलाई दिइएको थियो तर अहिले प्रदेश सरकारले नै डिजिटल विद्यालय बनाउने, अनुगमन तथा रेखदेख पनि प्रदेश सरकारले नै गर्ने मन्त्रालयका सूचना अधिकारी रोकायको भनाई छ ।

    स्थानीय तहको कार्य व्यस्तताका कारण यो आर्थिक वर्षमा मन्त्रालयले नै डिजिटल विद्यालय निर्माणमा लाग्ने भएको छ । गत आर्थिक वर्षमा डिजिटल विद्यालय निर्माणका लागि भन्दै प्रदेश सरकारले २४ वटा विद्यालयलाई १२ लाखका दरले स्थानीय तहलाई रकम पठाएको थियो । २४ वटा विद्यालय मध्ये करिव दशवटा स्थानीय तहले मात्र डिजिटल विद्यालयको प्रतिवेदन मन्त्रालयमा पठाएका छन् भने वाँकी रहेका हस्तान्त्रण गर्न वाँकीको प्रतिवेदन मन्त्रालयले माग गरेको छ ।

    आगामी दिनमा प्रदेश सरकारले गत आर्थिक वर्षका डिजिटल बन्न वाँकी विद्यालयको अनुगमन गर्ने र यो आर्थिक वर्षमा बन्दै गरेका डिजिटल विद्यालयलाई पनि संगसंगै लैजाने गरि काम गर्ने भएको छ । विद्यालयको यो आर्थिक वर्षमा छनोट भएका २२ वटा विद्यालयका लागि प्रदेश सरकारले प्रति विद्यालय १२ लाखका दरले वजेट छुट्याइसेको जनाएको छ ।

    प्रतिकृया लेख्नुहोस्:

    सूचना विभाग दर्ता न: २२०/०७३-७४
    सम्पादक तथा सञ्चालक :
    मोतीलाल पौडेल
    मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

    YouTube Videos from Kahbarera HD

    Subscribe
    shares