सोमवार, साउन २६, २०७७

संविधानमाथि आक्रमण हुने खतरा : महामन्त्री कोइराला

७ आश्विन २०७६, मंगलवार २०:२७

खोटाङ । नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेपालको संविधानमाथि आक्रमण हुने खतरा रहेको बताउनुभएको छ । खोटाङको दिक्तेलमा आज आयोजित पार्टीको दोस्रो चरणको राष्ट्रिय जनजागरणसभा समापन कार्यक्रममा उहाँले संविधानमाथि आक्रमण हुने सम्भावना देखिएकाले सबै मिलेर संविधानलाई जोगाउनुपर्नेमा जोड दिनुभयो ।

कांग्रेस महामन्त्री डा कोइरालाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको वर्तमान सरकार काण्डैकाण्डको सरकार भएको आरोप लगाउनुभयो । “निर्मला हत्याकाण्ड, बुढीगण्डकी काण्ड, बालुवाटारको जग्गा काण्डजस्ता काण्डैकाण्डले भरिएको यो सरकारलाई नेपाली जनताले चिन्नुपर्ने बेला आएको छ”, उहाँले भन्नुभयो, “यो सरकारले कुनै माखो मार्नेवाला छैन । आजका मितिसम्म विकासको कुनै योजना तर्जुमा गर्न सकेको छैन । अब नेपाली जनताले सोच्ने र प्रतिकार गर्ने बेला आएको छ ।”

उहाँले कांग्रेसलाई कसैले हराउन नसक्ने भए पनि गुट–उपगुटले आफैँ ध्वस्त भएको बताउनुभयो । “कांग्रेसको विचार र इतिहास सुन्दर छ । तर, पार्टीलाई गुट–उपगुटले ध्वस्त पारेको छ”, उहाँले भन्नुभयो, “एउटाले टिकट पाए सबैले जिताउनु पर्नेमा हराउनुपर्छ भनेर लाग्छन्, अनि कहाँबाट कांग्रेसको जित हुन्छ ! तिक्तताले हामीलाई धरासायी पारेको छ । आगामी दिनमा आपसमा रहेको तिक्ततालाई अन्त्य गरेर अगाडि बढ्नुपर्छ ।”

हालसम्म कांग्रेसले गरेका राम्रा कामको प्रचार नगरिएको उल्लेख गर्नुहुँदै महामन्त्री कोइरालाले अबका दिनमा कांग्रेसको योगदानको प्रचारप्रसार गर्नुपर्नेमा जोड दिनुभयो । “नेपालमा भएका महत्वपूर्ण परिवर्तन कांग्रेसको नेतृत्वमा भएको छ”, उहाँले भन्नुभयो, “प्रचारप्रसार गर्न नसक्दा यसको फाइदा अरुले उठाइरहेका छन् ।”

नेपाली कांग्रेस खोटाङले आयोजना गरेको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी दर्जनौँ कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् । नवप्रवेशी कार्यकर्तालाई महामन्त्री कोइरालाले अबिर लगाएर स्वागत गर्नुभएको थियो । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
3 Shares
Tweet
Pin
Share