दिग्भ्रम
२२ भाद्र २०७६, आईतवार ०९:४३
जहाँ प्राप्ति सम्भावना व्याप्त हुन्छ
चुनौती र सङ्घर्ष पर्याप्त हुन्छ।
मिली बस्न जाने न मेरो न तिम्रो
कडा धारिला दाँत जोगिन्छ जिब्रो।।
अरूमा सधैँ खोट आफू छु चोखो
प्रशंसा र सम्मानका लागि भोको।
सधैँ लाभका लागि ऊ मार्ग ढुक्छ
गरे दोषमा टिप्पणी चित्त दुख्छ।।
छ सामर्थ्य के राम्ररी बुझ्न पाए
डराइन्न होला अरूले डराए।
चिने बिम्ब छाया कहाँ भूत हुन्छ
कुरा दृष्टिजस्तै प्रत्याभूत हुन्छ।।
बुझक्की सही भूमिका खेल्न सक्छन्
विवेकी सही मार्ग पर्गेल्न सक्छन्।
चरा बस्दछन् जीर्ण हाँगाहरूका
भई ढुक्क आफ्ना पखेटाहरूमा।।
उचाली पछार्नेछ मान्छे कहाँ को
बुझे राम्ररी ठाउँ मेरो कहाँ हो।
कुनै वस्तु टुक्र्याइए हुन्न सग्लो
अरूको चढी काँध होइन्न अग्लो।।