schedule मङ्लबार, माघ १४, २०७६

बकुल्ला

१८ भाद्र २०७६, बुधबार १२:०१

Sharing is caring!

वासुदेव पाण्डेय

सधैँ देख्छ आफू र आफन्त मात्र
भुलेको छ को हुन् सही,योग्य पात्र।
जहाँ भात खायो त्यहीं गर्छ कुल्ला
न संस्कार सुध्र्यो न सुध्रे बकुल्ला।।

झुटो के र साँचो, न पर्गेल्न सक्छन्
न आरोप सङ्कष्ट नै झेल्न सक्छन्।
छ जो चोर ऊ नै दिने हाँक खुल्ला
सुनी स्याल हुइय्याँ कराए बकुल्ला।।

चुन्यो एक पार्टी घुस्यो तस्करीमा
चुस्यो राज्यलाई कुनै छैन सीमा।
चुनावी सबै खर्च पक्कै असुल्ला
जुकातुल्य झन् जुर्मुराए बकुल्ला।।

न पर्खालजस्ता न यी बारजस्ता
विनाबीज उम्रे यिनी झारजस्ता।
जता खान पायो त्यतैतर्फ झुल्ला
सबै देश खाई रमाए बकुल्ला।।

कुनै कोइलीझैँ कुनै कागजस्ता
कुनै घाउजस्ता कुनै दागजस्ता।
लुकी खोलमा के प्रशंसा बटुल्ला
जतातर्फ हे-यो बकुल्लै बकुल्ला।।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
shares