शनिबार, साउन ३१, २०७७

सन्तुष्टि

१४ भाद्र २०७६, शनिबार १६:३५
वासुदेव पाण्डेय

होओस् महाजन धनी जति वित्तबाट
निर्क्योल हुन्छ जनको कद चित्तबाट।
शिक्षा लिएसरि कुनै चलचित्रबाट
आओस् दया धनविना मनभित्रबाट।।

सम्पत्ति, अर्थ, पद, शक्ति बढे खजाना
आफू ठुलो छु सब बान्धव ठान्छ साना।
आफन्तको जब उही जन खन्छ खेदो
धोई अँगार कसरी हुन सक्छ सेतो।।

पर्खाल, गेट जति नै बलिया बनाओस्
भागेर जान सुरुङमार्ग भलै खनाओस्।
राखोस् किनी पलङ, वर्तन, रत्न,अर्थ
सन्तुष्टि भित्र नभएपछि के छ अर्थ।।

सत्ता चढी बलमिच्याइ निकै गरोस् ऊ
ल्याएर अर्थ जति नै ढुकुटी भरोस् ऊ।
सम्पत्ति,शक्ति र विभूषण ओज हुन्छन्
दोषी अशान्त मनखातिर बोझ हुन्छन्।।

सम्पत्ति साधन तथा मन साध्य हुन्छ
बुझ्दैन जो भ्रमित ऊ हुन बाध्य हुन्छ।
सन्तुष्टि मिल्छ धनले भ्रम पाल्न थाल्यो
खाई सुधा, गरल मात्र निकाल्न थाल्यो।।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
2 Shares
Tweet
Pin
Share