शनिबार, फाल्गुन १५, २०७७

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

१२ भाद्र २०७६, बिहीबार १२:१९

काठमाडौँ । नेपाली कांग्रेसले समसामयिक राजनीति, भ्रातृ, शुभेच्छुक संस्था र जनसम्पर्क समितिका बारेमा छलफल गर्न केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा सो विषयमा छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

बुधबारका लागि निर्धारित बैठक पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल अस्वस्थ भएपछि आज बोलाइएको हो । यद्यपि बुधबार पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय पदाधिकारी बैठक बसेको थियो । बैठकमा पार्टीको दोस्रो चरणको जागरण अभियानको तयारी र सो अभियानका लागि प्रतिनिधि चयनलगायत विषयमा छलफल भएको थियो ।  कांग्रेसको ‘हिमाल, पहाड, तराई-मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ को प्रथम चरण गत वैशाख २५ मा प्रारम्भ भएर जेठ २५ मा सम्पन्न भएको थियो ।

यसैगरी दोस्रो चरणको जागरण अभियान यही भदौ २४ गते (विपी जयन्तीका दिन) प्रारम्भ भई असोज ७ गतेसम्म चल्ने पार्टी कार्यालयले जनाएको छ । पार्टीले दोस्रो चरणको जागरण अभियानअघि नै नेपालको संविधान र कांग्रेसको संशोधित विधानबमोजिम सम्पूर्ण संरचना निर्माण तथा नेपाल विद्यार्थी सङ्घलगायत भ्रातृ संस्थाबारे आवश्यक निर्णय लिइसक्ने जनाएको थियो ।

गत असार २२ गतेको केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले छलफलका १४ कार्यसूची प्रस्तुत गर्नुभएको थियो । त्यसमध्ये हालसम्म अधिकांश विषयमा बैठकले निर्णय गरिसकेको र अब बाँकी विषयमा बैठकमा छलफल हुने प्रवक्ता शर्माले बताउनुभयो । कार्यसूचीमा निर्णय हुन बाँकी रहेका भ्रातृ एवं शुभेच्छुक संस्थाहरुको विधान संशोधन र मान्यता प्रदान गर्ने, पार्टी विधानअनुसार अवधि समाप्त भएका भ्रातृ सङ्घहरुका सम्बन्धी, जनसम्पर्क समितिका सम्बन्धमा, स्थानीय तहमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई नीतिगत निर्देशन दिनेलगायत विषयमा आजको बैठकमा छलफल हुनेछ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
5 Shares
Tweet
Pin
Share