शनिबार, साउन ३१, २०७७

सन्देह

७ भाद्र २०७६, शनिबार १२:०८
10 Shares

वासुदेव पाण्डेय

लाग्ने गर्दछ ठेस घाउ छ जहाँ पच्दैन खाँटी कुरो
लाखौॅ विघ्न परी सताउँछ यहाँ दोषी भए पुर्पुरो।
हाने शाब्दिक अस्त्र घोच्दछ तिखो सङ्गीनजस्तो बनी
मान्छे चिन्न सकिन्छ सङ्गत गरी आत्मीय को हो भनी ?

देखे शङ्ख मुला रहेछ कि भनी हेर्छन् अरे मूर्खले ।
दिन्छन् आठ अठार भन्न सजिलै सक्छन् हरे धूर्तले।
स्वार्थी यो दुनियाँ डराउँछ सधैॅ जान्ने र बाठो बने
होचो देख्छ र हेप्न थाल्छ दुनियाँ टेर्दैन लाटो बने।।

मान्छेको गुणले जिते हृदयमा बिझ्दैन गाली पनि
टाढिन्छौ किन हात एक छ भने बज्दैन ताली पनि ।
मान्छेका मनमा दरार गहिरो विश्वासको सङ्कट
खै मान्छे किन सुन्न आतुर भयो चीत्कार,चिच्याहट?

आगोले वन,जल्न यो मन हुने औजार शङ्का तर
खेदो खन्न सदैव उद्यत भयौं हुन्छौं जहाँ निर्भर ।
आफ्नै लागि खनेर खाडल बस्यौं केही नमानी डर
आगो ताप्न सदैव तत्पर भयौं आफ्नै जलाई घर।।

डोरी सर्प बनी डराउँछ कहाँ छाया कहाँ भूत हो
वाणी शिष्ट,सुयोग्य कार्य जनको सद्भावना दूत हो।
मान्छे उन्नति खोज्छ काम नगरी देखी दिवास्वप्न जो
त्यो मान्छे सबतर्फ बाधक हुने सच्च्चा महामूर्ख हो ।।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
10 Shares
Tweet
Pin
Share