दलको दलदल
४ भाद्र २०७६, बुधबार २०:४३
चन्दा वा सहयोगले दल चले ठेक्का लिए हातमा
आँखा कानुनका छलीकन गरे, उत्पात झन् रातमा।
हप्ता थाल्छ असुल्न रक्षक स्वयम् बन्दै यहाँ भक्षक
झुक्छन् भ्रष्ट्र बिचौलियासित सधैँ यो देशका शासक।।
केही पूर्व विशिष्टले, दल तथा नेताहरूले लुटे
बाँकी लुट्न भनेर भ्रष्ट मतिका चम्चे, धुपौरे जुटे।
खाने वेतन मात्र हाजिर गरी छन् कर्मचारी निकै
यस्तो जर्जर हाल यो मुलुकको हुन्थ्यो कहाँ त्यत्तिकै?
साँचोसम्म दिएर नागरिकले विश्वास धेरै गरे
नेताले जनता जनार्दन भुली आफ्नो भुँडी पो भरे।
जुट्छन् लुट्न सदैव राष्ट्रढुकुटी सम्पूर्ण कुम्ल्याउँछन्
के विप्रेषण के तिरो स्वहितमा लाएर सिध्याउँछन्।।
ठान्छन् देश र राज्यशासन सबै सम्पत्ति हो बाबुको
जान्छन् खर्च लिई विदेश सजिलै नेता दुखे टाउको।
दोहोरो सुविधा लिँदै मुलुक यो ठान्छन् बपौती न हो
जो तिर्छन् कर पाउँदैन सजिलै चक्की सिटामोलको।।
मेरो देश सधैॅ कुपोषण भई तङ्ग्रिन्न होला कि त
सन्चो हुन्छ कि हुन्न रोग म गई सोधूँ कहाँ कोसित।
हुन्नन् घाउ विसेक बल्झिन पुगे के औषधी मन्त्र हो
साँच्चै मर्म बुझी नसक्नु छ यहाॅ हाम्रा प्रजातन्त्रको।।