बुधबार, फाल्गुन १९, २०७७

घुम्ने उपयुक्त समयमा सुुनशान रारा

२६ श्रावण २०७६, आईतवार २०:२७
55 Shares

मुगु । पछिल्लो समयमा मुगु जिल्ला सडक सञ्जालमा जोडिए पछि राराताल हेर्न आउने पर्यटकको संख्या बढे पनि गत असार महिनाको पहिलो साताबाट पर्यटक घट्दै जान थालेपछि रारामा रहेका होटल हाल सुुनशान जस्तै बनेका छन् ।

पर्यटक आउने सिजनको बेला होटलका सबै कोठा खचाखच हुने र कमाई पनि राम्रै हुने भएपनि असार देखि पर्यटक आउन छाडेपछि होटलका सबै कोठा खाली रहेको डाँफे होटेल राराका म्यानेजर बलीराज शाहीले बताउनु भयो । अहिले होटेलमा काम गर्ने कर्मचारीलाई पारिश्रमिक दिन पनि समस्या भएको शाहीको भनाई थियो ।

कुनै बेला पर्यटकलाई खाना खुवाउन, सुताउन, नास्ता खुवाउन भ्याई नभ्याई हुने रारा राष्ट्रिय निकुञ्ज भित्रका होटलका अलावा मध्यवर्ती क्षेत्र भित्र पर्ने लामाचौर, सल्लेरी, ताल्चा, ढोटु, पिना लगायत सुर्खेत, दैलेख, हुँदै कालीकोट र जुम्लाका होटल यतीखेर सुुनशान बनेका छन् ।

प्रतिकुल मौसम भएपनि सतह मार्ग गत वर्षको तुलनामा नबिग्रेकोले पर्यटक भ्रममा रहेको जस्तो आफूलाई लागेकोे भिलेज हिरिटेज एण्ड रिर्सोट प्रा.लि.का म्यानेजर दिपक रावत बताउनु हुन्छ । मुगुमा हवाई उडान भर्दै आएका निजी क्षेत्रका एयरलाइन्सहरुले तारा एयरले जस्तै नियमित उडान नगरेका कारण रारामा पर्यटक आउनमा कमि आएको गुनासो रावतको छ । असार र साउन मन भुलाउने रमाईलो गर्ने उपयुक्त समय भएपनि उपयुक्त सडक तथा हवाई सेवाका कारण पर्यटक आउन समस्या भएको उहाँको भनाई छ ।

रारामा विगत ४ वर्ष देखि डुङ्गा चलाउँदै आउनु भएका छायाँनाथ रारा नगरपालिका वडा नं ९ मुर्माका सुकलाल रोकायाले सिजनको बेला रारातालमा डुङ्गा चलाउन आफुलाई भ्याई नभ्याई हुने गरेपनि असार महिना देखि हालसम्म पर्यटकको उपस्थिति शून्य भएपछि तलव खान समेत समस्या भएको गुनासो गर्नु भयो । मुगुमा बाह्रै महिना पर्यटक घुम्न आउने व्यवस्था मिलाउनको लागि सरकारले कालीकोटको नाग्म देखि मुगुको गमगढी सम्म सडकको स्तरोन्नति गरी कालोपत्रे गर्नु पर्ने उहाँको भनाई ।

रारा राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख सरक्षण अधिकृत यज्ञराज रोकायाले यातायात र प्रतिकुल मौसमको कारणले पर्यटकको आवागनमा कमी भएको बताउनु भयो । अहिले पर्यटकको लागि रारा घुम्न आउने उपयुक्त समय भएको पनि निमित्त प्रमुख संरक्षण अधिकृत रोकायाले बताउनु भयो ।

रारामा बाह्रै मास पर्यटक भित्राउनको लागि कालीकोटको नाग्म देखि मुगुको गमगढी सम्मको सडक लुई लेनको बनाई कालोपत्रे गर्नु पर्ने र मुगुमा सबै एयरलाइन्सले नियमित उडान गर्न सक्ने व्यवस्था मिलाएको खण्डमा रारा आउने पर्यटकको संख्यामा उल्लेखिय मात्रामा वृद्घि हुने र पर्यटनको माध्यमबाट समग्र कर्णाली नभई देश नै समृद्घि तिर जाने अपेक्षा गरिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
55 Shares
Tweet
Pin
Share