सोमवार, फाल्गुन २४, २०७७

विश्वका चारधाम मध्येकाे छायाँनाथ धामको तीर्थयात्रा

२४ श्रावण २०७६, शुक्रबार ०७:३०
114 Shares

मुगु । विश्वका चारधाम भित्र पर्ने छायाँनाथ धामको तीर्थयात्रा शुरु भएको छ । बिहीबार छायाँनाथ रारा नगरपालिका वडा नं २ चैन गाउँमा रहको छायाँनाथ मन्दिरमा रहेको शिवजीको मूर्ती पुजारीका साथ बाजागाजा र सुरक्षाकर्मीसहित मुगुमकामरोङ गाउँपालिका तथा साविकको डोल्फु गाविसमा रहेको छायाँनाथ मन्दिरमा लगेपछि छायाँनाथ धाम तीर्थयात्रा शुरु भएको हो ।

हरेक वर्ष श्रावण शुक्लपक्ष, अष्टमी तिथीका दिन जिल्लाको प्रसिद्ध छायाँनाथ मन्दिरमा रहेको छायाँनाथ ठाकुर ज्युको मूर्ति पवित्र धाम छायाँनाथमा नुहाउन लगिएसंगै छायाँनाथ धाम तिर्थ यात्र शुरु भएको मानिन्छ ।

बिहीबार लगिएको शिवजीको मूर्ति जनैपूर्णीसम्म छायाँनाथ मन्दिरमा रहने र दर्शनको लागि मुगु लगायत, जुम्ला, हुम्ला कालीकोट, डोल्पा, दैलेख, जाजरकोट, बाजुरा, अछाम, डोटी लगायतका धामी झाँक्रीसहित तीर्थालुहरु दर्शन गर्न छायाँनाथ धाममा आउने गर्दछन् ।

जनैपूर्णीमामा छायाँनाथमा ५ दिनसम्म पुजापाठ, होम ब्रत हुने गर्दछ भने त्यसमा बरदान माग्न १५ जिल्लाबाट तीर्थालुको ओइरा लाग्ने गरेको छायाँनाथ मन्दिरका पुजारी भिम प्रसाद चौलागाईंले बताउनु भयो ।

विष्णु शक्तिले झिंगा उत्पादन गरी महादेवले बोकेको सत्यदेविको सम्पूर्ण अंग छायाँनाथमा पतन भएको हुँदा त्यस ठाउँलाई छायाँनाथ तीर्थस्थलका रुपमा पुज्न थालिएको पुजारीको भनाई छ ।

उक्त छायाँनाथ मन्दिरमा जाने तीर्थालुहरुले श्राद्ध, होम, व्रतबन्ध र आफुले चिताएको वरदान मागेर फिर्ता हुने गरेका छन् । कोही झाँक्री बनेर आउने गरेका छन् भने कोही देवताका घण्टमाला पवित्र बनाउन जाने गरेका छन् ।

विश्वकै ४ पवित्र स्थलका रुपमा रहेको छायाँनाथ विश्वकै उच्च स्थानमा रहने धामका रुपमा समेत चिनिने गर्दछ । बिहीबार प्रस्थान गरेको टोली ९ दिन पछाडी अथवा परेउ पूर्णीमाका दिनमा फर्किने गर्दछ ।

यसैबीच नवमीका दिन जिल्लामै रहेको अर्को धार्मिक स्थल क्रृणमोक्ष मन्दिरमा पनि छायाँनाथ मन्दिरमा रहेको अर्को मूर्ति लिएर तीर्थालुहरु जाने भएका छन् । त्यहाँ पनि मुगु लगायत जिल्ला बाहिरका तीर्थालु दर्शन गरी आउने गर्दछन् ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
114 Shares
Tweet
Pin
Share