सर्वसाधारणकाे निःशुल्क स्वास्थ्य उपचारमा सेना
२१ श्रावण २०७६, मंगलवार १८:४८मुगु । नेपालकै प्रमुख पर्यटकीय संभावना बोकेको रारामा नेपाली सेनाले स्वास्थ्य उपचार केन्द्र सञ्चालनमा ल्याएको छ ।
मुगुको सबै क्षेत्रमा स्वास्थ्यको पहुँच नपुगेको अवस्थामा नेपाली सेना श्रीदल गुल्मले रारा घुम्न आउने पर्यटक र रारा राष्ट्रिय निकुञ्जसँग जोडिएका सिमावर्ती गाउँका बासिन्दालाई सहज स्वास्थ्यको पहुँच पुर्याउने उद्देश्यले रारा ताल किनार हुटुमा निःशुल्क स्वास्थ्य उपचार केन्द्र स्थापना गरिएको श्रीदल गुल्मका सहसेनानी निरज रानाले जानकारी दिनुभयो ।
रारा नजिक कुनै पनि सरकारी स्तरको स्वास्थ्य उपचार केन्द्र नभएका कारण रारा नजिकका स्थानीय लगायत पर्यटकहरुले स्वास्थ्य समस्या झेल्दै आएका थिए।
पर्यटकीय स्थल रारा घुम्न आउने पर्यटक लगायत स्थानीय बासिन्दाका लागि नेपाली सेनाका तालिम प्राप्त स्वास्थ्य जनशक्तिबाट झाडा पखाला, आउँ मासी, रुघाखोकी, प्रेसर जाँच, घाउखटिरा ज्वरो, दमखोकी, निमोनिया र लुतो लगायतका रोगको उपचारका साथै निःशुल्क औषधि समेत वितरण गरिदै आाएको सहसेनानी रानाले जानकारी दिनु भयो ।
गुल्ममा कार्यरत नेपाली सेनाको लागि मात्र स्वास्थ्य उपचारकेन्द्र सञ्चानमा हुदैआएको भएपनि मुगु आफैमा विकट र दुर्गम् जिल्ला भएकाले जनताको सेवामा समर्पित नेपाली सेनाले आफ्नै ब्यबहारिकताले आन्तरिक रुपमा औषधि लगायत स्वास्थ्य उपकरण ब्यवस्थापन गर्ने गरि स्वास्थ्य उपचाार केन्द्र सञ्चालनमा ल्याएको सहसेनानी रानाले बताउनु भयो ।
रारामा स्वास्थ्य उपचार केन्द्र सञ्चालनमा आएपछि रारा आउने स्वदेशी तथा विदेशी पर्यटकका साथै निकुञ्ज मध्यवर्ती क्षेत्रका मुर्मा, श्रीनगर, तुम कार्कीवाडा, ढुम, टोप्ला, झ्यारी ताल्च, हेर्निकाँद, सायाँखोला गाउँका वासिन्दा स्वास्थ्य सेवाबाट लाभान्वित हुने गरेको छन् ।
रारामा निःशुल्क स्वास्थ्य उपचार केन्द्र सञ्चालनमा आएपछि स्थानीय बासिन्दा खुशी भएका छन् । हाल सञ्चालनमा रहेको स्वास्थ्य उपचार केन्द्रका सबै सेवा निःशुल्क रहेको सेनाले जनाएको छ ।