• schedule सोमवार, मंसिर २, २०७६

    ट्राफिक नियमको पालनमै समस्या

    २६ असार २०७६, बिहीबार १२:२९

    Sharing is caring!

    सुर्खेत । ट्राफिक प्रहरीले सवारी चालक, पैदल यात्रुलाई दैनिकरुपमा ट्राफिक नियमवारे जानकारी दिने गरेको छ । तर पालना गर्ने पक्षहरुले नै पालन नगर्दा समस्या देखिएको छ । बस, ट्रक, ट्याक्टर, अटोरिक्सा र मोटरसाइकल चालकका साथै पैदल यात्रुहरुलाई दैनिक ट्राफिक नियमवारे जानकारी गराइन्छ । सवैभन्दा धेरै अटो, ट्याक्टर , मोटरसाइकल चालक र पैदल यात्रुहरुले नै नियम अटेर गर्ने गरेको पाइन्छ ।

    फोटो क्याप्सनः पैदल यात्रुहरुलाई ट्राफिक नियमवारे सचेत गराउँदै सुर्खेतको ट्राफिक प्रहरी ।
    अटोरिक्सा जथाभावी रोक्ने, यात्रु चढाउने, ओराल्ने, बाटो काट्ने गरिन्छ । अटोको गति पनि अनियन्त्रित हुने गरेको छ । यसका साथै साइड लाइटलगायतको वारेमा पनि अटो चालकहरु लापरबाह छन् । त्यसैगरी मोटरसाइकल चालकको अवस्था पनि उस्तै छ । तीव्र गति, तीन जना चढ्ने, ठूलो आवाजका साथ हुईंक्याउने, पार्किङ निषेधका ठाउँमा पार्किङ गर्ने, मापसे गरेर चलाउने, कागजपत्र नबोकेर ट्राफिक नियमको धज्जी उडाइरहेका छन् । अटो, मोटरसाइकल ओभरटेक गर्दा जथाभावी गर्ने गरिएको पनि पाइन्छ ।

    पैदल यात्री पनि कहाँ कम छन् र ? जेब्रा क्रसबाट नहिंडी आफूखुशी बाटो काट्ने, हिंड्दा यता उता नहेरी जबर्जस्ती जाने, साना नानीबाबुहरुलाई जथाभावी छोड्ने गर्नाले ट्राफिक नियमको पालना हुन सकेको छैन । ट्राफिक नियमको पालना नहुँदा ट्राफिक प्रहरीलाई पनि सधैं सकस छ । सवारी साधनको बढ्दो चाप, साँघुरा र भत्केका सडक, चालकहरुको लापरबाही, पार्किङको व्यवस्था हुन नसक्दा दुर्घटना बढेको बढ्यै छ । ट्राफिक प्रहरीले पनि दिनहुँजसो सुर्खेतका विभिन्न स्थानहरुमा सर्वसाधारण तथा चालकहरुलाई ट्राफिक नियमवारे सचेत गराइरहेको छ ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले भने विगतको तुलनामा ट्राफिक नियमको पालनामा केही सुधार आएपनि आशा गरे अनुसार नआएको जनाएको छ । सुर्खेतका ट्राफिक प्रमुख प्रहरी निरीक्षक हरिबहादुर विसीले नियम पालनामा विगतको तुलनामा केही सुधार आएको दावी गर्नुहुन्छ । उहाँले कारबाही पर्ने, जरिवाना तिर्नुपर्ने डरले नियमको पालना केही भएपनि आशा गरे अनुसार सुधार आउन नसकेको उल्लेख गर्नुभयो ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार चालु आर्थिक बर्षमा ११२ वटा सवारी दुर्घटना हुँदा ११५ जनाको ज्यान गएको तथ्यांक छ । जसमा ८६ जना घाइते भएका छन् । २०७३÷०७४ मा १०१ दुर्घटनामा ११७ जना, २०७४÷०७५ मा ८८ दुर्घटनामा ९१ जनाको मृत्यु भएको थियो । यस्तै चालु आर्थिक बर्षमा ५२ हजार ३०७ सवारी साधनलाई कारबाही गरी तीन करोड ३१ लाख ९२ हजार राजश्व संकलन गरेको ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

    प्रतिकृया लेख्नुहोस्:

    सूचना विभाग दर्ता न: २२०/०७३-७४
    सम्पादक तथा सञ्चालक :
    मोतीलाल पौडेल
    मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

    YouTube Videos from Kahbarera HD

    Subscribe
    shares