• schedule मङ्लबार, भदौ ३१, २०७६

    ‘सरकारले तपाईहरुको माग सम्वोधन गर्छ’ :मुख्यमन्त्री शाही

    २८ जेष्ठ २०७६, मंगलवार ०८:३८

    Sharing is caring!

    सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले जनयुद्ध, जनआन्दोलन र प्रदेश प्राप्तीको आन्दोलनका क्रममा भएका घाईते अपाङ्गहरुको समस्या सरकारले सम्वोधन गर्ने बताएका छन् । मुख्यमन्त्री कार्यालयमा सोमबार जनयुद्ध तथा जनआन्दोलनका घाईते अपाँङ्ग कर्णाली प्रदेश समितिको ज्ञापन पत्र वुझदै मुख्यमन्त्री शाहीले आन्दोलनका घाईतेहरुको समस्या सम्वोधन गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

    मुख्यमन्त्री शाहीले गम्भीर प्रकृतिका घाईतेहरुको पुन:स्थापना केन्द्र वनाएर व्यवस्थापन गरिने बताए । पुन:स्थापना केन्द्रमा १ जना सहयोगी समेतलाई गास, वास, कपास र उपचारको व्यवस्था सहित राखिने उनले बताए ।

    काम गर्न सक्ने घाईते अपाँङ्गता भएका व्यक्तिहरुलाई उनीहरुको सीप, क्षमता र ईच्छा अनुसारको रोजगारीको प्रवन्ध गरिने मुख्यमन्त्री शाहीले बताए । सरकारी नोकरीमा अपाङ्गताको आरक्षण सुरक्षित गरेर आन्दोलनका घाईते तथा अपाँङ्गताहरुलाई प्राथमिकता दिईने उनको भनाई छ ।

    विगतमा घाईतेहरुको समस्या वुझेपनि सोचेजस्तो गर्न नसकेको वताउदै मुख्यमन्त्री शाहीले भने–‘एउटै मोर्चामा संगै लडेको कमाण्डर सरकार प्रमुख छ, सरकारले तपाईहरुको माग सम्वोधन गर्छ ।’

    अपाङ्गताका वालवालिकाको लागि निशुल्क शिक्षा, निशुल्क स्वास्थ्य विमा, निशुल्क उपचार व्यवस्था गरिदिन घाईतेहरुले मुख्यमन्त्रीसंग माग गरेका छन । उनीहरुले सिप विकासका लागि तालिम, १० लाख सम्म विना धितो ऋण, सवारी साधन खरिदमा ५० प्रतिशत छुट लगायतको माग गरेका छन् ।

    त्यसैगरी ज्ञापन पत्रमा अपाङ्गता भएका व्यक्तिको व्यवसायमा करछुट, घाईते अपाङ्गको लागि पुन:स्थापना केन्द्र स्थापना लगायतका माग गरिएको छ ।

    यसैविच सोमवार नै पूर्वजनमुक्ति सेना महिला प्रतिष्ठानको टोलीले पनि मुख्यमन्त्री शाहीलाई पूर्वजनमुक्ति सेनालाई रोजगारी, सहुलियत ऋण, सिप विकास तथा आयआर्जनमुलक कामका लागि वजेट विनियोजनको माग गरेको छ । प्रतिष्ठानकी अध्यक्ष सृजना ओली रावतको नेतृत्वमा आएको टोलीले मुख्यमन्त्री शाहीलाई पूर्व महिला जनमुक्ति सेनाका समस्याहरु अवगत गराएको थियो ।

    प्रतिकृया लेख्नुहोस्:

    सूचना विभाग दर्ता न: २२०/०७३-७४
    सम्पादक तथा सञ्चालक :
    मोतीलाल पौडेल
    मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

    YouTube Videos from Kahbarera HD

    Subscribe
    shares