• schedule बुधबार, असार ११, २०७६

    कर्णाली प्रदेश राजधानीमै सडक मर्मत नहुँदा सास्ती

    २१ जेष्ठ २०७६, मंगलवार १२:३३

    Sharing is caring!

    सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरका सडकमा भएका खाल्डाखुल्डी मर्मत नभएकै कारणले यहाँका सर्वसाधारणले निकै सास्ती खेप्नु परेको छ । सडक मर्मत गर्न छुट्याएको बजेटले केही टालटुल गरे पनि ६ महिना नपुग्दै ती सडक भत्किएर फेरि उही अवस्थामा पुगेका छन् ।

    स्थानीय जनप्रतिनिधि र सांसददेखि मन्त्रीसम्म खाल्डाखुल्डी सडक्मा उफ्रिँदै यात्रा गर्छन् तर, त्यसलाई मर्मत गरी आवागमन सहज बनाउनेतर्फ कसैको ध्यानभने जान सकेको छैन । वीरेन्द्रनगर नगरपालिका पनि बजेट नभएको भन्दै समस्याबाट पन्छिने गरेको छ ।

    वीरेन्द्रनगरका सर्वसाधारणले भने वीरेन्द्रनगरको सडक सकसपूर्ण रहेको गुनासो गरेका छन् । वीरेन्द्रनगर ८ खजुरामा बस्दै आएका खड्ग विश्वकर्माले सडकको खाल्डाखुल्डी मर्मतसम्भारको नहुँदा सास्ती खेप्दै आएको बताउँछन् । उनी भन्छन्, ‘वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी भएपनि सडकको अवस्था भने साह्रै दयनीय छ, ।’

    सवारी चालक केशव खत्रीले सडकका खाल्डाखुल्डीका कारण दुर्घटनाको जोखिम झनै बढ्दै गइरहेको बताउँछन् । उनी भन्छन्, ‘एकातिर भत्किएको सडक अर्कातिर सडक किनारामा हुने सर्भिस सेन्टर र पार्किङ सहरी सौन्दर्यको बाधक बनेका छन् ।’

    वीरेन्द्रनगर नगरपालिका ८ की बसन्ती गोतामेले भत्किएका सडकमा दैनिक ओहोरदोहोर गर्न निकै कठिन हुने गरेको बताउँछिन् । उनी भन्छिन्, ‘कर्णालीको राजधानीका नगरको सडकको हालत त यस्तो छ, अन्य ठाउँका जनताको अवस्था झन् कस्तो होला ? यसमा प्रदेश सरकारको ध्यान जान जरुरी छ ।’

    वीरेन्द्रनगर नगरपालिका उपप्रमुख मोहनमाया ढकालले गणेशचोक, जिल्ला प्रहरी कार्यालय र कालुन्चोक हँुदै एरपोर्टका सडक टेन्डर भएर कार्य अघि बढिरहेको जानकारी दिइन् । उनले इत्राम, नगरपालिका तलतिरको सडकहरुका लागि प्रदेश सरकारसँग सहकार्यमा टेन्डरको आह्वान गरेर कार्य सञ्चालन गरिने बताइन् ।

    उनका अनुसार वीरेन्द्रनगरका सडक मर्मतका लागि टेन्डर छिटै भएर कामहरु अघि बढिरहेका छन्भने टेन्डर प्रक्रियामा हुन लागेका सडक मर्मतका लागि छिटै सुरु हुने छन् । ‘वीरेन्द्रनगर नगरपालिकाका सबै बिग्रेका बाटा बनाउनका लागि टेन्डर प्रक्रियाबाट अघि बढाउँदै लैजाने छौँ ‘उनले भनिन्, ‘नगरपालिकासँग भएको बजेटले काम हामीले अगाडि बढाएका छौं ।’

    उपप्रमुख ढकालले सडक निर्माण तथा मर्मतका लागि प्रदेश सरकारसँग सहकार्य गरेर बाँकी रहेका सडक मर्मतका कामपनि छिटै सुरु हुने बताइन् । नगरपालिकासँग भएको साधन स्रोतले भ्याएसम्म नगरका सडक सुधार्दै लैजाने योजना रहेको उनले जनाइन् । उनले भनिन ‘आगामी आर्थिक वर्षको बजेटमा नगरका सडकलाई थप प्राथमिकता दिनेछौं ।’

    प्रतिकृया लेख्नुहोस्:

    सूचना विभाग दर्ता न: २२०/०७३-७४
    सम्पादक तथा सञ्चालक :
    मोतीलाल पौडेल
    मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

    YouTube Videos from Kahbarera HD

    Subscribe
    shares