• schedule मङ्लबार, भदौ ३१, २०७६

    कैलाश मानसरोवर जाने यात्री बढे

    १५ जेष्ठ २०७६, बुधबार १०:४५

    Sharing is caring!

    हुम्ला । हुम्लाको सदरमुकाम सिमकोट भएर कैलाश मानसरोवर जाने भारतीय तीर्थयात्रीको संख्या एक हप्तामा ८०० पुगेको छ ।

    कैलाश मानसरोवर दर्शनका लागि उपयुक्त समय शुरु भएलगत्तै भारतीय नागरिकले सिमकोटका होटेल र विमानस्थल यतिबेला भरिभराउ भएको छ । भारतीय तीर्थयात्री र अन्य देशबाट आउने पर्यटकका सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको सिमकोट विमानस्थल स्रोतले जनाएको छ ।

    फाइल फाेटाे
    मानसरोवर कैलाश यात्राका लागि सिमकोटको बाटो भएर ३६२ जना महिला र ४५९ जना पुरुष गरी जम्मा ७६३ जना, ८० जना भारतीय तीर्थयात्री आएका र अन्य मुलुकका पर्यटक पनि सिमकोट पुगेका सिमकोट विमानस्थलका प्रमुख शंकर केसीले जानकारी दिए । कैलाश मानसरोवर दर्शनको समय शुरु भएसँगै यहाँ आगन्तुकको चाप बढेको हो ।

    विश्वको सबैभन्दा उच्च स्थानमा अवस्थित पवित्र जल भण्डार रहेको मानसरोवर पुग्न चाहनेहरू वैशाखको अन्तिम साता र जेष्ठको पहिलो हप्तादेखि ओइरिन शुरु हुन्छ ।

    पौराणिक कथनअनुसार अमृत सरह मिठास भएको यस पवित्र जल भण्डारको सृष्टि ब्रम्हाजीले गरेको हो । मानसरोवरको सृष्टिसँगै विश्व जगत्को सृष्टि यहीँबाट शुरु भएको जनविश्वास रहिआएको छ ।

    समुद्र सतहबाट चार हजार ५५९ मिटर उचाइमा रहेको यस सरोवर ३२० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । मानसरोवर तालको क्षेत्र भगवान् विष्णुको बासस्थान हो भन्ने धार्मिक विश्वास रहेको छ । हिउँ पग्लेर जल बन्ने अवस्थामा यहाँ डमरुको ध्वनिको आवाज सुन्न सकिन्छ भन्ने गरिन्छ ।

    कैलाश पर्वत भगवान् शिवशंकर र मानसरोवर माता पार्वतीको प्रतीकको रूपमा लिने गरिन्छ । मध्यराति माता पार्वती तारा (प्रकाश) को भेषमा स्वयं मानसरोवर तालमा प्रकट हुन्छिन् भन्ने विश्वास छ । यस सरोवरको पानीको रङ्ग समयअनुसार फरक हुने गर्दछ ।

    मानव जीवनमा एकपटक अनिवार्य रूपमा कैलाश मानसरोवरको दर्शन गर्नुपर्छ भन्ने धार्मिक मान्यता रहेको छ । पितृात्मा चोख्याउने उद्देश्यले पनि हरेक वर्ष हजारौ तीर्थयात्री यहाँ पुग्ने गर्दछन् ।

    छिमेकी राष्ट्र चीनमा रहेको कैलाश मानसरोवर दर्शन गर्न नेपालका अन्य सीमा नाका भन्दा हुम्लाको हिल्साबाट छिटो पुग्न सकिन्छ । बाह्य पर्यटकका लागि कैलाश मानसरोवर पुग्ने मूलद्वार हुम्लाको सिमकोट हिल्सा नाका नै हो । तिब्बतको पुराङ काउन्टी यो सरोवर रहेको छ ।

    भारतीय तीर्थयात्री बाँके जिल्लाको जमुनाहा रुपैडिया हुँदै नेपालगञ्ज विमानस्थल पुगेर हवाई मार्गबाट महङ्गो भाडा तिरेर हुम्ला सिमकोट पुग्ने गर्दछन् । नेपालगञ्जबाट सिमकोट विमानस्थल पुगे लगतै एक÷दुई घण्टाको बसाइपछि तीर्थयात्री फेरि हेलिकप्टर चढेर १३ मिनेटमा हिल्सा नाका पुग्छन् । हिल्साबाट दुई देशको सीमा रहेको झोलुङ्गगे पुल तरेर चीनको ताक्लाकोट पुगेपछि गाडीबाट दुई घण्टामै कैलाश मानसरोवर पुगिन्छ । पैदल यात्रा गर्दा करीब एक हप्ता लाग्छ । अधिकाँश तीर्थयात्री पैदल यात्रा गर्न रुचाउँछन् ।

    सिमकोटबाट पैदल हिँडेर जाने तीर्थयात्रीलाई हिल्सा पुग्न साढे दुई दिन लाग्छ । अधिकाँस तीर्थयात्रीले आफैं खाना बनाउँदै यात्रा गर्ने गर्छन् भने कतिपय होटेलमा खाना खाने पनि छन् । होटेलको खानालाई २०० देखि २५० रुपैयाँ पर्छ । सिमकोटबाट सलिसल्लाको लाप्चामा पुगे लगतै हिल्सा पुग्न गाडी
    चढ्नु पर्छ । गाडीे भाडा एक हजार रुपैयाँसम्म पर्छ । हेलिकप्टरबाट हिल्सा पुग्न नेपालका तीर्थालुले चार हजार रुपैयाँ भाडा तिर्नुपर्छ ।

    भारतीय तीर्थयात्री भने भारतीय दूतावास काठमाडौँबाटै आ–आफ्नो एजेन्सीमार्फत मानसरोवर पुग्ने गर्दछन् । हिल्लाबाट कैलाश मानसरोवर पुग्न ताक्लाकोटबाट यात्रा शुरु हुन्छ र एक व्यक्तिले गाडी भाडा दश हजार रुपैयाँ तिर्नुपर्छ ।

    भारतीय तीर्थयात्रीले कैलाश मानसरोवर यात्राका लागि तीनवटा मार्ग अँगाल्दै आएका छन् । एउटा मार्ग नेपालगञ्ज हुँदै सिमकोटसम्मको हवाई यात्रा हो ।
    भारतीय तीर्थयात्रीले अङ्गालेको अर्को स्थलमार्ग काठमाडौँको कोदारी राजमार्ग तातोपानी हुँदै ल्हासासम्मको यात्रा हो जसका लागि गाडी चढ्नुपर्छ । उनीहरू त्यहाँबाट हप्तौँ दिन लगाएर ताक्लाकोटमा रहेको कैलाश मानसरोवर दर्शन गर्न पुग्छन् । यस मार्गबाट आउन जान गरी १४ दिन लाग्ने गरेको भारतीय
    तीर्थयात्रीको अनुभव छ ।

    नेपालकै पश्चिम सिमानामा रहेको दार्चुलाबाट पैदल बाटो भएर पनि जान सकिन्छ । हुम्लाको सिमकोट भएर जाने नै छोटो दूरीको यात्रा हो । हुम्लाको नाम्खा गाउँपालिका र सिमकोट गाउँपालिकाको सिमाना तिब्बतको कैलाश मानसरोवर तालसँग जोडिएको छ । लिमी लाप्चा भन्ने स्थानबाटै पनि कैलाश मानसरोवरको दर्शन आफ्नै भूमिबाट गर्न सकिन्छ । हुम्लीलाई ताक्लाकोट पुग्न सिमानामा रहेको चिनियाँ प्रहरीले जान दिए पनि कैलाश मानसरोवर पुग्न भने कठिनाइ भोग्नुपरेको यात्री हेमन्त बोहराले बताए ।

    मानसरोवर तालमा स्नान गरेमा सात जुनीको पाप नष्ट हुने र त्यहाँको जल खाएमा भगवान्को शक्ति प्राप्त हुने धार्मिक विश्वास छ । संसारको सबैभन्दा
    अग्लो पठार भूमि, बीचमा ठूलो कैलाश पर्वत, दक्षिणमा शक्तिको प्रतीक राक्षस ताल र काखमा शान्तिको प्रतीक मानसरोवर अवस्थित छ । मानसरोवरको जल घर, खेतबारीका चार कुनामा छर्कियो भने शुद्ध हुने र बाली सप्रिने विश्वास रहेको छ । रासस

    प्रतिकृया लेख्नुहोस्:

    सूचना विभाग दर्ता न: २२०/०७३-७४
    सम्पादक तथा सञ्चालक :
    मोतीलाल पौडेल
    मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

    YouTube Videos from Kahbarera HD

    Subscribe
    shares