• surkhet online bazar
  • karnali states student admission campaign
  • schedule बुधबार, बैशाख ११, २०७६

    भग्नावशेषभित्र पुरिएको पीडा– आश भने जिउँदै

    २६ चैत्र २०७५, मंगलवार २१:२०

    वीरगञ्ज । निर्धन उत्थान लघुवित संस्था कलैयाबाट रु दुई लाख ऋण लिएर छोरीको विवाह गर्ने सपना बोकेका कलैया उपमहानगरपालिका–१३ बलीरामपुरका वीरबहादुर कानुको त्यो सपना त्यतिबेला चकनाचुर भयो जतिबेला आइतबार साँझ आएको हावाहुरीको कारण ।

    कानुले लिएको ऋणबाट छोरीलाई बेहुली बनाउन डेढ तोला सुनको टीका, नाकको फुली, नथियाजस्ता गहना बनाएर राखेको घर हावाहुरीसँगै भत्किँदा उनको त्यो सपना त्यही भग्नावशेषमा पुरिन गयो । भत्किएको त्यो भग्नावशेषमा उनले माटो हटाएर छोरीको खुशी खोजिरहेको भए पनि अझसम्म त्यो खुशी भेटिन नसके पनि उनको आश भने जिउँदै छ ।

    यस्तै पीडा भोगिरहेकी छिन्– ४५ वर्षीया रोजिना खातुनले । खातुनको पीडा पनि वीरबहादुरको भन्दा कम छैन । छोरी सबनमको टीकाटालोको तयारीमा जुटेकी खातुनको त्यो सपना पनि हावाहुरीसँगै उडेर गएको छ । बाराकै कलैया मधवनबाट बिहीबार केटा पक्ष आउने तय भएको थियो ।
    सो टीकाटालो कार्यक्रममा आफन्त आउने क्रम जारी थियो । रोजिनाको खुशीको सीमा थिएन । तर एक्कासी आएको भीषण हावाहुरीले घर ढल्दा सबनम र उनकी बहिनी रुवीको त्यही ढलेको घरभित्र किचिएर ज्यान गएपछि रोजिनाको त्यो सपना पनि उडाएर लगेको छ ।

    फेटा गाउँपालिकाको पुरैनियाका इजहार मियाँ आफ्ना सात जना परिवारसँग हाँसीखुशी जीवन गुजारा गर्दै आएका थिए । तर आइतबार साझ आएको दानवीय हावाहुरीले इजहार परिवारका चार जनालाई निल्न पुग्यो । हावाहुरी आएको बेला सातै जना घरमा सुरक्षित बसेका थिए । त्यही बेला अचानक घर भत्किँदा श्रीमती मीना खातुन, बुहारी सकिया, नातीहरु रुकसाल र समसारलाई सदाको लागि लिएर गएपछि अहिले इजहार शून्यमा टोलाइरहेका हुन्छन् ।

    ठूलो आवाज र गर्जनसहित आएको सो दुई चक्रवात आफ्नो घर अगाडि एकापसमा जुधे । त्यसको अगाडि जे प¥यो त्यसलाई विनाश गर्दै अगाडि बढ्यो त्यो चक्रवात फेटा गाउँपालिका–६ पुरैनियाका लैस मियाँले त्यो साँझको विनाशलीला सम्झँदै भने– त्यो चक्रवातमा आगोजस्तो देखिने उल्का जस्तो थियो– ३०० मिटर जति चौडाइको चक्रवात घुम्ने क्रममा भलुही, भरवलीयामा दोहोरिएर आएपछि यसले ठूलो विनाश गरेर गयो ।

    यो भयङ्कर चक्रवातले पर्सा, बारा जिल्लाको खुटवा, जव्दी, भलुही, पुरैनिया, धर्मनगर, फुलवरिया, हर्दिया, तेलगाई, परशुरामपुर, धर्मपुरलगायतका ठाउँमा व्यापक धनजनको क्षति गरेको छ । अहिले कालो बादल लागेकाले आइतबार आएको अनिष्टजस्तै फेरि त्यो अनिष्ट दोहोरिन्छ कि भन्ने डरले सताइरहेको छ, पीडित फैजुलहक भन्छन्– “मैले आफ्नो श्रीमती मुस्तकीमा खातुनसहित बुहारी विविया खातुनलाई समेत गुमाएकाले मौसममा एकाएक खराबी आएपछि डर, त्रास लागेको छ ।

    बिहीबार बसेको सङ्घीय सरकारको मन्त्रिपरिषद् बैठकले बारा पर्साको हावाहुरीबाट प्रभावितका घर सेनामार्फत बनाउने निर्णय गरेकाले वर्षायाम शुरु हुनुअघि नै सङ्घीय सरकारले पीडितका लागि घर बनाउनुपर्ने माग जनप्रतिनिधिको छ ।

    त्यो विनाशकारी हावाहुरीबाट बारा, पर्सा गरी २७ को मृत्यु भएको, ६७६ घाइते भएका र एक हजार ८९५ घरमा क्षति पुगेको स्थानीय प्रसाशनले जनाएको छ । हावाहुरीबाट ज्यान गुमाएका तथा घरवारविहीन परिवारलाई चाँडै स्थायी बसोबासको व्यवस्था गर्नुपर्ने पीडितहरुको माग छ ।

    प्रतिकृया लेख्नुहोस्:

    सूचना विभाग दर्ता न: २२०/०७३-७४
    सम्पादक तथा सञ्चालक :
    मोतीलाल पौडेल
    मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

    YouTube Videos from Kahbarera HD

    Subscribe