मङ्लबार, माघ ११, २०७८

स्वास्थ्य चौकी बनेपछि अत्तरपुरवासी खुसी

१९ असार २०७३, आईतवार ११:३३

सिन्धुपाल्चोक, १९ असार ।

आफ्ना अगाडि सधँै टेलिभिजनमा देखेका र अरूबाट नाम सुनेका चिकित्सक डा भगवान कोइरालालाई प्रत्यक्ष देख्दा अत्तरपुर गाविसका जनता निकै खुसी देखिन्थे ।

भूकम्पले भत्किएको स्वास्थ्य चौकी भवन पनि उहाँको पहलमा बनेको भन्ने सुन्दा उहाँलाई भगवानकै रूप मान्नेको पनि कमी थिएन । सरल र हँसिला स्वभावका डा कोइरालाबाट आफूहरूले ठूलो अपेक्षा गरेको गाउँलेले बताए ।

एक वर्षअघि भूकम्पले स्वास्थ्य चौकी भत्काउँदा सामान्य उपचारका लागि अत्तरपुरका जनतालाई निकै कष्ट भएको र भवन बनाउन पहल गरेर डा कोइरालाले ठूलो काम गरेको बताउँदै हुुनुहुन्थ्यो स्थानीय बासिन्दा पूजा लामा ।

लामाले आफ्नो बच्चा र घरका ज्येष्ठ सदस्य बिरामी हुँदा निकै दुःख पाएको बताए। ‘‘काठमाडौँबाट यहाँसम्म आएर डाक्टर’सावहरूले स्वास्थ्य भवन बनाइदिनुभयो । अब हामीलाई ठूलो राहत भयो – उनले भने ।

विगत १५ वर्षदेखि अत्तरपुरमा रही जनताको सेवा गरिरहनुभएका सिनियर अहेब श्रीनारायण ठाकुरले भवन नहुँदा खुला चौरमा जनतालाई सेवा गर्नुपरेको बाध्यता सुनाए ।

उनले त्रिपाल पनि नभएको सम्झँदै खुला चौरमा उपचार गर्ने र भत्किएको भवनभित्र रहेको औषधि डराइ डराइ झिक्दै त्यहाँका जनतालाई उपचार गरेको स्मरण गर्नुभयो । उनले भने – ‘‘सक्ने बिरामीको उपचार गरे पनि नसक्ने बिरामीलाई बाहिर पठाउने गर्थें । अब यहाँ सुत्केरी गराउने सेवा सुरु गर्न पाए हुन्थ्यो । त्यसैअनुसारको सरकारले सुत्केरी गराउने दक्ष स्वास्थ्यकर्मी व्यवस्था गरिदिए हुन्थ्यो भन्ने मेरो चाहना छ ।

ठूलो अस्पताल भनेकै स्वास्थ्य चौकी भएको बताउँदै अर्का बासिन्दा युवराज खरेलले स्वास्थ्य चौकी भएपछि यहीबाट सुत्केरी गराउने सेवा पनि सञ्चालन गर्न आग्रह गरे ।

शनिबार अमेरिका नेपाल चिकित्सक प्रतिष्ठानले बनाएको नयाँ प्रिफ्याव भवन उद्घाटनमा भेला भएका अत्तरपुरवासी निकै खुसी देखिन्थ्ये । प्रतिष्ठानले अत्तरपुरलगायतका ११ गाविसमा स्वास्थ्य चौकी भवन बनाई सरकारलाई हस्तान्तरण गरेको छ ।

प्रतिष्ठानका सदस्यसमेत रहनुभएका वरिष्ठ चिकित्सक डा कोइरालाले सबैका कुरा सुनेपछि भवनमा आवश्यक पर्ने अन्य स्वास्थ्य सामग्री र उपकरणका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले  भने ‘‘आवश्यक पर्ने अन्य कुराका लागि हामी पहल गर्नेछौँ । तपाईंहरूले हाम्रो मोबाइल नम्बर पनि राख्नुस् । केही ठूलो समस्या भयो केही कुरा भन्न मन लाग्यो भने हामीलाई फोन गर्नुस् । हामीले सकेको सहयोग गर्नेछौँ ।’’

प्रतिष्ठानले चौतारा, भीमटार, तौउथली, हाइबुङ, सिपापोखरी, भोटसिपा, अत्तरपुर, पिस्कर, पेट्कु, लिस्टीकोट, ठूलो सिरुबारी र इरर्खु गाविसमा स्वास्थ्य चौकी निमार्ण गरेको अध्यक्ष डा ज्योति भट्टराईले जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयका प्रवत्ता तथा योजना प्रमुख महेन्द्रप्रसाद श्रेष्ठले भूकम्पले अतिप्रभावित १४ जिल्लामा ७०० स्वास्थ्य संस्था क्षतिग्रस्त भएकामध्ये ३०० आशिक, ४०० पूर्ण क्षति भएको जानकारी दिए ।

जिल्ला जनस्वास्थ्य कार्यक्रयका प्रमुख डा सुरेन्द्र चौरसियाले सिन्धुपाल्चोकका ८० स्वास्थ्य संस्थामध्ये ६३ पूर्ण क्षति भएका बताउनुभयो । बाह्र वटा भवनमा आंशिक क्षति र पाँच वटा भवन क्षति नभएको अवस्थामा रहेको उनले जानकारी दिए । उनले हाल पूर्ण क्षति भएका ६३ मध्ये ३२ भवन प्रिफ्याव मोडलमा बनिसकेको र केही बन्ने क्रममा रहेको बताए।

रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share