उपत्यकामा महिला प्राविधिक मात्र
१९ जेष्ठ २०७३, बुधबार १४:११काठमाडौ, १९ जेठ ।
काठमाडाैँ उपत्यकाका तीन जिल्लामा भूकम्प पुनःनिर्माणमा महिला प्राविधिकले मात्र आफ्नो ज्ञान, सीप र योग्यता देखाउने भएका छन् । यसका लागि सहरी विकास तथा भवन निर्माण विभागले एकसय १८ जना महिला प्राविधिकलाई निजी आवास तथा संरचनाको पुनःनिर्माणमा प्राविधिक सल्लाह दिन परिचालन गरेको विभागका सहसचिव शिवहरि शर्माले राससलाई जानकारी दिए ।
भूकम्पबाट क्षति भएको ग्रामीण तथा सहरी आवासको पुनःनिर्माण, सार्वजानिक संरचनाको पुनःनिर्माण कार्यमा प्राविधिक सहयोग, सुझाव तथा सल्लाह दिन सो मन्त्रालय अन्तर्गत गठित केन्द्रीय आयोजना कार्यान्वयन इकाई मार्फत परिचालन हुने एक हजार ३४६ इन्जिनियरमध्ये २१९ जना महिला प्राविधिक रहेका थिए ।
उनले भने, “उपत्यकाको निजी आवासको पुनःनिर्माणलाई नमुना बनाउन र महिलालाई थप सुविधा दिन उपत्यकाका तीन जिल्लामा महिला प्राविधिक मात्र परिचालन गरिएको हो ।”
सहसचिव शर्माले भूकम्प प्रतिरोधात्मक तालिक सञ्चालन कार्यविधि २०७२ लागू गरी हालसम्म २९ वटा संस्थालाई तालिम सञ्चालन गर्ने स्वीकृति दिएको जानकारी दिए । गोरखाको बारपाक र सिन्धुपाल्चोकको चौतारामा भूकम्पस्मारक तथा स्मृतिपार्क निर्माणका लागि आवश्यक प्राविधिक कार्य सुरु भएको सहसचिव शर्माले जानकारी दिए । रासस