मौलिक कला संस्कृतिको संरक्षण गरौँ” भन्ने मूल मन्त्रसहित सिम्ता गाउँपालिका–८ मा अवस्थित विद्यालयमा हरितालिका तीज विशेष कार्यक्रम आज भाद्र ६ गते भव्यतापूर्वक सम्पन्न भएको छ ।
महिलाहरूको महान् पर्व तीजलाई केन्द्रमा राखी आयोजना गरिएको कार्यक्रममा अन्तर–सदनात्मक तीज गीत तथा नृत्य प्रतियोगिता मुख्य आकर्षण बनेको थियो । प्रतियोगितामा विद्यार्थीहरूले परम्परागत भेषभूषा धारण गरी लोक वाद्यवादनका धुनमा मनमोहक प्रस्तुतिहरू दिएका थिए । प्रतियोगिताको नतिजा अनुसार भोटेचुली सदन प्रथम, मालिधुरी सदन द्वितीय, कोश्वर सदन तृतीय तथा धागेछहरी सदन सान्त्वना स्थानमा घोषित भएका छन् ।
कार्यक्रम विद्यालयका प्रधानाध्यापक रमेश सिंहको सभापतित्वमा सम्पन्न भएको हो भने सिम्ता गाउँपालिका–८ का वडासदस्य चक्र ब. बस्नेत प्रमुख आतिथ्यका रूपमा उपस्थित हुनु भएको थियो । सो अवसरमा बस्नेतले आधुनिकताको नाममा मौलिक कला–संस्कृति विस्थापित हुँदै गएको भन्दै विद्यालयस्तरमै यस्ता कार्यक्रमको आयोजना गर्नु सकारात्मक अभ्यास भएको टिप्पणी गर्नुभयो ।
कार्यक्रमको सञ्चालन शिक्षक भुपाल सिंहले गर्नुभएको थियो भने स्वागत शिक्षिका दुर्गा रसाइलीले गर्नु भएको हो । प्रतियोगिताको मूल्याङ्कन समितिमा संयोजक सन्तोष न्यौपाने, सदस्य शान्त पोखरेल र हिमरता सुनार रहनु भएको थियो ।
सांस्कृतिक प्रस्तुति अवलोकन गर्दै बोल्ने अन्य वक्ताहरूले डिजे संस्कृतिको बढ्दो प्रभावले हाम्रो मौलिकता मेटिँदै गएको बताउँदै परम्परागत भेषभूषा, लोक धुन र जातीय सांगीतिक परम्परालाई जोगाएर राख्नुपर्नेमा जोड दिएका थिए । उनीहरूका अनुसार विद्यालय स्तरमा सुरु भएका यस्ता प्रयासले भविष्यका पुस्तामा मौलिक संस्कृतिप्रति गर्व र लगाव बढाउने विश्वास व्यक्त गरिएको छ ।
कार्यक्रमको समापनमा प्रधानाध्यापक सिंहले सहभागी सबै सदनलाई बधाई दिँदै विद्यालयले शैक्षिक क्रियाकलापसँगै सांस्कृतिक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभएको छ ।
यसरी विद्यालयले आयोजना गरेको तीज विशेष कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय समुदायको उत्साहजनक सहभागिता रह्यो ।

प्रकाशित मिति: ६ भाद्र २०८२, शुक्रबार २०:३९