सुर्खेत । सुर्खेतका धेरै स्वास्थ्य संस्थाहरुमा जनशक्ति अभाव रहेको पाइएको छ । सुर्खेतका ९ वटै स्थानीय तहका स्वास्थ्य संस्था र पालिकाका स्वास्थ्य शाखामा गरिएको स्थलगत अनुगमनले यस्तो भेटिएको हो । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले नेपाल पत्रकार महासंघ सुर्खेतसँगको सहकार्यमा गरेको स्थलगत अध्ययनमा जनशक्ति अभाव र समयमै औषधि खरिद नहुँदा सेवा प्रवाहमा समस्या भएको भेटिएको हो । दक्ष जनशक्ति अभावका कारण दशरथपुर र अवलचिङ्ग स्वास्थ्य चौकीमा भिडियो एक्सरे सेवा लामो समयदेखि बन्द भएको छ । अन्य स्वास्थ्य संस्थामा पनि दक्ष जनशक्ति अभावमा सेवा प्रवाहमा चुनौति देखिएको अध्ययनले देखाएको छ ।
सोमबार जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार अन्तरक्रिया तथा समीक्षा कार्यक्रममा अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको छ । अध्ययनमा संलग्न सञ्चारकर्मीहरुले नागरिकलाई सर्वसुभल रुपमा सेवा प्रवाहलाई गर्न र स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउन तहका सरकारले निःशुल्क रुपमा प्रदान गर्ने औषधिहरु समयमै खरिद गर्नुपर्ने, नसर्ने रोगका प्रकोप बढ्दै गएकाले यसको नियन्त्रणका लागि आवश्यक रणनीति बनाउनुपर्ने, स्थानीय, प्रदेश र संघीय सरकारबीच स्वास्थ्य सेवा प्रबर्धनका लागि समन्वय गर्नुेपर्ने लगायतका सुझाव दिएका छन् ।
त्यस्तै प्रतिवेदनमा विशेषज्ञ र प्राविधिक जनशक्ति व्यवस्थापन गर्नुपर्ने, स्वास्थ्यकर्मीका लागि आवश्यक तालिम, गोष्ठि र क्षमता विकासका कार्यक्रम सञ्चालन गर्नुपर्ने, सुविधायुक्त ठाउँमा रहेका फाजिल स्वास्थ्यकर्मीलाई आवश्यक स्थानमा खटाउनुपर्ने, स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीहरुको मनोबल बढाउने गतिविधि गर्नुपर्ने, जिल्ला जनस्वाथ्य सेवा कार्यालयको भूमिका विस्तार गर्नुपर्ने, स्थानीय तहले स्वास्थ्य क्षेत्रमा लगानी बढाउनुपर्ने र स्वास्थ्य वीमाबारे जनचेतना बढाउनुपर्ने सुझाव दिइएको छ ।
महासंघ सुर्खेतका सचिव ललित बुढाले प्रस्तुत गरेका हुन् । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले नेपाल पत्रकार महासंघ सुर्खेतसँगको सहकार्यमा सुर्खेतका स्वास्थ्य शाखा सिम्ता, बजेडिचौर, राकम र काप्रिचौर स्वास्थ्य चौकी, स्वास्थ्य शाखा गुर्भाकोट र गुमी स्वास्थ्य चौकी, स्वास्थ्य शाखा लेकबेशी, प्राथमिक स्वास्थ्य केन्द्र दशरथपुर र कल्याण स्वास्थ्य चौकी, स्वास्थ्य चौकी छिन्चु र रामघाट स्वास्थ्य चौकी, वीरेन्द्रनगर जनस्वास्थ्य शाखा र गढी स्वास्थ्य चौकी, चिगांड स्वास्थ्य शाखा र प्राथमिक स्वास्थ्य केन्द्र अवलचिङ, बराहताल स्वास्थ्य शाखा, प्राथमिक स्वास्थ्य केन्द्र सालकोट र स्वास्थ्य शाखा पञ्चपुरीको अध्यनन गरिएको थियो ।
घट्दै घरमै सुत्केरी हुने दर
पछिल्लो समय सुर्खेतमा घरमै सुत्केरी हुनेको दर घट्दै गएको छ । जनस्वास्थ्य सेवा कार्यालयको तथ्यांकले सुर्खेतमा घरमै सुत्केरी हुनेको दर घट्दै देखाएको हो । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म सुर्खेतमा कुल २ हजार २ सय ७० जना सुत्केरी भएकामध्ये ९७ जना मात्र घरमै सुत्केरी भएको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका तथ्याङ्क सहायक उपेन्द्रबहादुर रेगामीलेले जानकारी दिए ।
चौकुने २ सय १२ जनामध्ये ४१ जना घरमै सुत्केरी भएका छन् । तथ्यांक अनुसार सिम्तामा १ सय ८७ सुत्केरीमध्ये ३ जना, चिंगाडको ७९ मध्ये ३ जना, लेकवेशीमा ७६ जनामध्ये ६ जना र गुर्भाकोटमा २ सय ५८ मध्ये ५ जना घरमै सुत्केरी भएका हुन् ।
त्यस्तै भेरीगंगामा ३ सय ३१ जनामध्ये १३ जना, बराहतालमा १ सय २६ मध्ये १९ जना, पञ्चपुरीका २ सय ६८ मध्ये ७ जना र चौकुनेमा २ सय १२ मध्ये ४१ जना घरमै सुत्केरी भएका छन् ।
यस्तै सुर्खेतमा सबै खोप कभरेजको अवस्था सुधारोन्मुख भएको पाइएको छ । तथ्यांक अनुसार सुर्खेतमा ९३ प्रतिशत खोप कभरेज भएको छ । तर पछिल्लो सुर्खेतमा नसर्ने रोगीहरुको संख्या बढ्दो भएको छ ।
स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन हातेमालौ गरौँ
यस्तै कार्यक्रमका सहभागीहरुले सबै क्षेत्र र सबै तहका सरकारबीच सहकार्य गरेर स्वास्थ्य सेवालाई प्रभावकार बनाउन हातेमालो गर्नुपर्ने धारणा राखेका छन् ।
सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शाखा महाशाखा प्रमुख बृषबहादुर शाहीले स्थानीय तह र जिल्ला तहमा स्वास्थ्य कार्यालयहरु छुट्टै भएको खण्डमा सेवा प्रवाहलाई अझ सबल बनाउनुपर्ने बताए । स्वास्थ्य क्षेत्रलाई अझ प्रभावकारी बनाउन तीन वटै तहका सरकारबीच प्रभावकारी बनाउन पहल गर्नुपर्ने धारणा राखे । उनले ठूलो भूगोल र धेरै जनघनत्व भएको वडामा एउटा स्वास्थ्य संस्थाबाट सेवा प्रवाह गर्न नसकिने भएका कारण कर्णाली प्रदेशमा ७० वटा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरेको बताए । समन्वय अभावमा सघीयता अघि नै स्थापना भएका सामुदायिक स्वास्थ्य इकाई सञ्चालनमा समस्या देखिएको जनाए । नागरिकलाई सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि स्वास्थ्य वीमाको विकल्प नभएको दावी गर्दै उनले यसलाई प्रभावकारी बनाउन सबै निकायले व्यवस्थित र समन्वय गर्नुपर्ने धारणा राखे ।
त्यस्तै प्रदेश स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी तथा वरिष्ठ शिक्षा स्वास्थ्य अधिकृत नवराज कँडेलले पछिल्लो समय नयाँ प्रयोगको नाममा जनस्वास्थ्यलाई मास्ने काम भएको आरोप लगाए । प्रदेश सरकारले नयाँ प्रयोगको नाममा स्वास्थ्य तालिम केन्द्रलाई मानव संशाधन केन्द्रमा गाभेर स्वास्थ्य क्षेत्रलाई क्षति हुने काम गरेको भनाइ राखे ।
पत्रकार महासंघ सुर्खेतका अध्यक्ष ललित बसेलले अन्य निकायले गरेको अध्ययन अनुगमन गरेपनि कहिलै सार्वजनिक नगर्ने अवस्थामा महासंघले स्थलगत अध्ययन गरेपश्चात भेटिएका विषय बस्तुलाई आम नागरिक र राज्यका निकायलाई जानकारी दिन प्रतिवेदनसहित सार्वजनिक गरेर राम्रो कामको सुरुवात गरेको उल्लेख गरे ।
कार्यक्रममा सहभागी सञ्चारकर्मीहरुले भने ग्रामीण क्षेत्रको समेत स्वास्थ्य संस्थाको अनुगमन हुनुपर्ने, योग्य र दक्ष व्यक्तिलाई मात्र मनोेसामाजिक (मनोसामाजिककर्ता)को व्यवस्था गर्नुपर्ने, स्वास्थ्य चौकी भएको सरसफाइको अवस्थाको जानकारी आउन नसकेको बताए । स्वास्थ्यकर्मी वशन्तमान श्रेष्ठले अध्ययन अनुगमन र मिडिया परिचालनलाई निरन्तरा दिनुपर्ने सुझाव दिए । कार्यालय प्रमुख गणेशभक्त गौतमले भने सञ्चारकर्मीसहितको अनुगमनका लागि नयाँ प्रयोग गरेको बताए । उनले आगामी दिनमा सबै क्षेत्रमा पुगेर स्वास्थ्य संस्थाको स्थलगत अनुगमन गर्ने प्रतिबद्धता जनाए ।
प्रकाशित मिति: २५ असार २०८१, सोमबार १२:०९