ठेकेदारको लापरबाहीले समयमै खाद्यान्न ढुवानी नहुँदा कर्णालीका हिमाली जिल्ला मुगु र जुम्लाका खाद्य गोदाम रित्तिएका छन।
अहिले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको जुम्लास्थित गोदाममा ३ सय २५ र मुगुमा ७ सय क्विन्टल चामल मात्र मौज्दात छ।
ठेकेदारको लापरबाहीले बर्सेनि सरकारी अनुदानको चामल पाउन कठिन भएको छायानाथरारा नगरपालिका–१३ का जौमती लावडले बताउनुभयो।
आफ्नो उत्पादनले ३ महिना छाक टार्नै धौधौ हुने गरेको स्थानियको भनार्इ छ।
खाद्य डिपोमा चामल नपाएपछि व्यापारीसित २५ किलोको १ बोरा चामल २२ सय रुपैयाँ तिरेर लैजानुपरेको सोरु गाउँपालिका–७ का हर्कसिंह बुढाले गुनासो पोख्नुभयो।
यो आर्थिक वर्षमा चामल ढुवानीको ठेक्का प्रक्रियामा ढिलाइ हुँदा ठेकेदारले ढुवानी गरेका छैनन्।
अघिल्लो आर्थिक वर्षमा गमगढीमा ११ हजार क्विन्टल चामल ढुवानी हुनुपर्नेमा ठेकेदारले ८ हजार क्विन्टल मात्र ढुवानी गरेपछि चामलको मौज्दात कम भएको कम्पनीका सूचना अधिकारी पुष्कर भामले बताउनुभयो।
गोदाममा रहेको ७ सय क्विन्टल चामल आपत्कालीन अवस्थाका लागि राखिएको छ।
खाद्यले अरुवा मोटो चामल ४६, मकवानपुर ४७, मध्यम ५० र सोना ५१ रुपैयाँ प्रतिकिलो बिक्री गर्ने गरेको छ।
चामल नहुँदा मुगुको रातापानी र कालै बिक्री केन्द्र पनि लामो समयदेखि बन्द छन्।
चामल नभएपछि साउने संक्रान्ति र जनैपूर्णिमा मनाउन समस्या भएको स्थानीय कमल शाहीले बताउनुभयो।
सरकारी अनुदानको चामल ढुवानीका लागि ठेकेदारहरूले कम्पनीसित प्रतिकिलो ६ रुपैयाँमा ठेक्का सम्झौता गरी सुर्खेत, नेपालगन्ज र बर्दियाको राजापुरबाट ढुवानी गर्दै आइरहेका छन्।
प्रकाशित मिति: २७ श्रावण २०७९, शुक्रबार १६:४१