बैठकको पहिलो दिन आज कंग्रेसका प्रदेश सभापतिहरुले स्थानीय तह निर्वाचनको ब्रिफिङ गरेका छन् । स्थानीय तह निर्वाचनपश्चात पहिलो पटक बसेको बैठकमा सातै प्रदेशका सभापतिले स्थानीय तह निर्वाचनको समीक्षा प्रस्तुत गरेका हुन् । प्रदेश सभापतिहरुले सबैजसो पालिकामा गठबन्धन सफल हुन नसकेको बताएका छन् ।
गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले हतारमा गरिएको गठबन्धनले पार्टीको संगठन नै कमजोर भएको गुनासो गर्नुभएको छ । मधेश प्रदेशका सभापति कृष्णप्रसाद यादवले स्थानीय तहको निर्वाचनमा गठबन्धनका दलहरुले घात गरेको बताउनुभएको छ ।
यस्तै लुम्बिनी प्रदेशका सभापति अमरसिंह थापाले पनि प्रदेशमा गठबन्धन पूर्ण रुपमा सफल हुन नसकेको चुनावी रिपोर्टिङ पेश गर्नुभएको छ । प्रदेशको गुल्मी, रुपन्देही र पाल्पामा मात्रै गठबन्धन सफल भएको र अन्य जिल्लामा गठबन्धन सफल हुन नसकेको उहाँको भनाई छ ।
यस्तै बागमती प्रदेशका सभापति इन्द्र बानीयाँ र प्रदेश १ का सभापति उद्दव थापाले प्रदेशमा गठबन्धन सफल भएको व्रिफिङ गरेका थिए । स्थानीय तहको निर्वाचन र गठबन्धनको समिक्षा गरेर काँग्रेसले आगामी निर्वाचनका लागि रणनीति तयार गर्ने जनाइएको छ ।
बैठकमा नेता शेखर कोइराला समूहका नेताहरूले भने गठबन्धन गरे पनि पार्टीले उल्लेख्य जित हासिल गर्न नसकेको बताएका छन् । नेता शेखर कोइरालाले गठबन्धनकै कारण मात्रै पार्टी स्थानीय चुनावमा पहिलो दल बन्यो भन्न नमिल्ने बताए । बरू चुनावी तालमेलका कारण गठबन्धनका अन्य दललाई भने धेरै फाइदा पुगेको बताए ।
कांग्रेसका हजारौँ नेता कार्यकर्ता गठबन्धनको पक्षमा छैनन्, तैपनि स्थानीय चुनावमा गठबन्धन गर्यौँ, हतारमा रस्साकस्सीका बीच भएको गठबन्धनले कांग्रेसलाई भन्दा अरु दललाई नै फाइदा पुग्यो,’ नेता कोइरालाले भने, ‘अब प्रदेश र प्रतिनिधिसभाको निर्वाचन आएको छ, यसमा पनि हामीले व्यक्तिकेन्द्रित गठबन्धन गर्यौ भने पार्टीका साथीहरूलाई कसरी न्याय हुन्छ ? गठबन्धन गर्ने भन्ने निर्णय गर्नुअघि यसबारे गम्भीर हुनु आवश्यक छ ।’
बैठकमा प्रदेश सभापतिहरूले ७–७ मिनेट रिपोर्टिङ गरेपनि केन्द्रीय सदस्यहरूलाई ५–५ मिनेट बोल्ने पालो दिइएको थियो । तर, कोइरालाले भने १५ मिनेटभन्दा धेरै समय लिए । कोइरालाले सरकार र पार्टी सञ्चालनमा सभापति देउवाले राम्रो काम गर्न नसकेको भन्दै ध्यानाकर्षण गराएका थिए । तर, देउवाले भने त्यसबारे कुनै जवाफ फर्काएनन् ।
दोस्रो दिनको बैठक भोली एक बजे बस्ने सो पार्टीले जनाएको छ ।