असार २१, कर्णाली प्रदेश सरकारले राष्ट्रिय बीमा कम्पनीमार्फत यहाँका विपद्पीडितलाई ७८ लाख बीमा रकम उपलब्ध गराएको छ।
प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले चालु आर्थिक २०७८÷७९ को गत साउन १ गतेदेखि असारसम्म बाढी–पहिरो, चट्याङ, आगलागीजस्ता विभिन्न विपद्बाट ज्यान गुमाउने मृतक परिवारका ३९ जना हकवालालाई रु ७८ लाख भुक्तानी गरेको हो।
१७ लाख नागरिकलाई विपद् सामूहिक दुर्घटना बीमा गरेअनुसार बीमा रकम उपलब्ध गराइएको मन्त्रालयका सचिव दिनेशसागर भुसालले बताउनुभयो।
उहाँले अहिलेसम्म आएका ५३ विपद्पीडितमध्ये ३९ जनाले रकम प्राप्त गरिसकेका भन्दै १४ मृतक परिवारलाई दिन बाँकी रहेको बताउनुभयो।
उनीहरूको पनि अब छिट्टै भुक्तानी दिने तयारी रहेको उहाँको भनार्इ छ।
मृतक परिवार तथा स्थानीय तहबाटै कतिपय फाइल ढिला आउँदा र विपद्बाट मृत्यु हुनेको सङ्ख्या थपिँदै जाँदा पीडित सबैको एकैचोटी भुक्तानी हुन नसकेको उहाँले बताउनुभयो। राष्ट्रिय बीमा कम्पनी कर्णाली प्रदेशका प्रमुख शिवराज बिसीले ३९ मृतकका सबै खुल्ने कागजात आइसकेकाले सम्बन्धित हकवालालाई भुक्तानी गरिएको र पाँच जनाको केही कागजात नपुगेको बताउनुभयो।
आठ जनाको भर्खरै आवश्यक कागजात प्राप्त भएकाले सबै प्रमाण हेरेर जतिसक्दो चाँडो भुक्तानी दिइने प्रदेश प्रमुख बिसीले बताउनुभयो।
आन्तरिक मामिला मन्त्रालय विपद् व्यवस्थापन शाखाका प्रमुख कृष्णबहादुर रोकायले चालु आर्थिक २०७८÷७९ मा विपद्बाट सबैभन्दा बढी जाजरकोटमा १७ जनाको बाढी र पहिरोबाट ज्यान गएको जानकारी दिनुभयो।
त्यस्तै हुम्लामा बाढी, पहिरो र हावाहुरीबाट सात, कालिकोटमा पहिरो र भिरबाट खसेर पाँच जनाको मृत्यु भएको उहाँले बताउनुभयो।
शाखा प्रमुख रोकायले सुर्खेतमा बाढीबाट पाँच, जुम्लामा आगलागीबाट चार र रुकुमपश्चिममा बाढीबाट तीन, दैलेख दुई, डोल्पामा पहिरो, मुगुमा हिमपहिरो र सल्यानमा चट्याङबाट एक–एक जनाको मृत्यु भएको बताउनुभयो।
प्रदेश सरकारको ‘विपद्बाट मृत्यु भएका परिवारका लागि दुई लाख र आवास बीमाअन्तर्गत पाँच लाख उपलब्ध गराउने उल्लेख छ।
प्रकाशित मिति: २१ असार २०७९, मंगलवार १७:१८