जाजरकोट । लकडाउनमै काम गरेर जाजरकोटको अति दुर्गम वारेकोट गाउँपालिकालाई सडक सञ्जालमा जोडिएको छ । जुम्ला र डोल्पा सँग सिमाना जोडिएको बारेकोट गाउँपालिकामा गाडी पुगेसँगै जिल्लाका सबैै पालिकामा यातायातको पुहँच पुगेको छ ।
सात स्थानीय तह रहेको जाजरकोटमा यसअघि ६ स्थानीय तहमा गाडी पुगिसकेको थियो । निर्माण शुरु भएको साढे दुई वर्षमा बारेकोटमा गाडी पुगेको हो । नलगाडको सिर्के र बारेकोटको सेपुखोला तथा काउली नजिक रहेका कडा चट्टानयुक्त भीर फोड्ने कार्य सकिए लगत्तै बारेकोट जोड्ने सडक निर्माण सम्पन्न भएको हो ।
जिल्ला सदरमुकाम देखि बारेकोट गाउँपालिकाको प्रशासनिक केन्द्र लिम्सासम्मको सडकको दुरी ७२ किलोमिटर छ । त्यसमध्ये जाजरकोट–डोल्पा अन्तर्गत कालीमाटी खण्डसम्म ३३ किलोमिटर, नलगाड हाईड्रोपावरको पहुँच मार्ग २७ किलोमिटर र बाँकी १२ किलोेमिटर बारेकोट खण्ड पर्दछ ।
गाडी पुगेसँगै तीन दिन पैदल हिडेर सदरमुकाम खलंगा पुग्नु पर्ने वाध्यतामा रहेका वारेकोटवासी निकै खुसी भएका छन् । भौगोलिक विकटता, गरिवी र सधैं खाद्य संकट व्यहोरिरहेको वारेकोट गाउँपालिकामा सडक पहुँच पुगेपछि खाद्यन्न ढुवानीमा सहजता आएको छ । खाद्य तथा व्यापार कम्पनी लिमिटेडले बारेकोटको घाटमा रहेको खाद्य डिपोमा ट्याक्टरबाट चामल ढुवानी गर्न थालेको छ । यसअघि खाद्यन्न लगायतका मालसमान ढुवानी गर्न घोडाखच्चडमै भरपर्नु पर्ने बाध्यता थियो ।
सडक निर्माण भएपछि बारेकोट सम्म दैनिक उपभोग्य सामग्री ढुवानी गर्न निकै सजिलो भएको बारेकोट १ कोटलीका भिमबहादुर नेपालीले बताउनुभयो । उहाँले भन्नुभयो–‘पहिले मान्छे हिड्नलाई साघुरो बाटो थियो, सामान ओसार पसार गर्न आफ्ठेरो हुन्थ्यो । यति छिटै गाडी पुग्ला भन्ने सोचेका थिएनौ । इमान्दारीका साथ काम गरे सवै कुरा सम्भव हुँदोरहेछ ।’
आफ्नै घर आँगनमा गाडी गुडेको देख्ने वषौ देखिको सपना पुरा भएको बारेकोट १ पुनगाउँकी चन्नी पुनले बताउनुभयो । खुसी हुँदै उहाँले भन्नुभयो, ‘गाडी पुगेसँगै बारेकोटवासीले डोकोमा नुन, तेल र खाद्यान्न बोकेर ल्याउनु पर्ने बाध्यता हट्ने भएको छ’ ।
गाउँपालिकाका अध्यक्ष महेन्द्र बहादुर शाहले बारेकोटवासीको वषौं देखिको सपना पुरा भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘बारेकोटवासीको एउटै मात्र सपना थियो गाडी चढ्ने र घरआँगनमै सडक आएको हेर्न पाउने । अथक प्रयास पछि गाडी चढ्ने बारेकोटी जनताको सपना पुरा भएको छ । निरन्तर रुपमा सडकको विस्तार गरेर बाँकी रहेका वडामा पनि सडक पुर्याउँछौ र ट्रयाक खुलेको सडकको स्तरोन्नती गरेर बाह्रै महिना यातायात चलाउँछौ ।’
वारेकोटमा सडक पुर्याउन करीव साढे चार करोड रकम खर्च भएको भएको छ । यसै वर्ष देखि सिर्के देखि लिम्सा सम्मको सडकको स्तरोन्नतीका लागि आठ करोड रुपैयाँको ठेक्का समेत भैसकेकोे अध्यक्ष शाहले बताउनुभयो । उहाँका अनुसार यही सडकबाट जुम्लाको टोप्ला जोड्ने गरि सडक विस्तार गर्न गाउँपालिकाले संघीय सरकारसँग बजेट माग गरेको छ ।
प्रकाशित मिति: ६ जेष्ठ २०७७, मंगलवार ०७:४०