सिमकोट । सडक मार्गले नछोयको कर्णाली प्रदेशको एक मात्र जिल्ला हुम्ला यसवर्षपनि राष्ट्रिय सडक सञ्जालमा नजोडिने भएको छ ।
हुम्ला र बाजुरा जोड्ने कवाडी खोलामा नेपाली सेनाले बेलिब्रिजको सिभिल पार्टको काम सम्पन्न गरेपनि पुलको स्टील पार्टहरु ढुवानी गरेर ल्याउन नसक्ने जनाएपछि यस अघि भनिएको समयमा हुम्लालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने कार्य पुरा नहुने भएको हो ।
कर्णाली करिडोरको कालीकोट, बाजुरा र हुम्ला खण्डको सडक निर्माणको जिम्मा पाएको नेपाली सेनाले हुम्ला जोड्ने कवाडी खोलाको बेलिब्रिज निर्माणको काम पुरा नहुने उक्त खण्डको निर्माण दलका प्रमुख इन्जिनियर मेजर मिलन कार्कीले बताए । कवाडी खोलाको बेलिब्रिज निर्माण गरी जेठ पहिलो हप्तासम्म हुम्ला जिल्ला राष्ट्रिय सडक सञ्जालसँग जोडिने सेनाले उद्घोष गरेको थियो ।
तर, कालीकोटको खुलालुको लालीघाटमा सडक विभागले पुल निर्माण गर्न नसक्दा र सोही स्थानमा कर्णाली नदीमा पानीको बहाव बढेको कारण फेरिबाट गाडीमा बेलिब्रिजका सामानहरु ढुवानी गर्न नसकिने भएपछि कवाडी खोलाको बेलिब्रिज निर्माण कार्य तत्काल संभव नहुने उनले बताए । अब बर्षापछि मात्र उक्त कार्य सुरु हुने र अहिले कालीकोटको लालीघाटमा ल्याएका बेलिब्रिजका सामानहरु सुर्खेत फर्काएर लगिएको मेजर कार्कीले बताए ।
यता बेलिब्रिज पुल निर्माण स्थल कवाडी खोलामा दुबैतिरको पिलर निर्माण गर्ने कार्य सम्पन्न भएको सेनाले जनाएको छ । उक्त पुलको निर्माण कार्य पुरा भएको भए हुम्ला खण्डको १५ किलो मिटरमा यसैपाली गाडी गुडाउने सेनाको योजना थियो ।
हुम्ला राष्ट्रिय सडक सञ्जालसँग जोडिने सेनाको घोषणासँगै निक्कै खुसी र आशावादी देखिएका हुम्लावासी अहिले सेनाले तत्काल त्यो संभव नहुँने जनाएपछि जनतामा निराशा छायको ताँजाकोट गाउँपालिकाका अध्यक्ष बाग्दल मल्लले बताए । ‘अब कतै भन्ने ठाँउ त छैन, तर जनतामा अब हुम्ला सडक सञ्जालसँग जोडिन्छ कि जोडिन्न भन्ने आशंका पैदा भएको छ ।’ उनले भने ।
सडक जोडिने खबर पाउँदा खशीको परिकल्पना गरेका हुम्लावासीलाई अहिले आएर तत्काल सडक जोडिने कुराले ‘हाती आयो हाती आयो फुस्स’ उखान जिल्लाका लागि प्रमाणित भएको कांग्रेस हुम्लाका सभापति जयपति रोकायाले बताए । तर, पनि निराश नभई प्रकृतिका अगाडी कसैको केही नलाग्ने उनले बताए ।
कर्णाली करिडोरको हुम्ला खण्डको ६१ किलो मिटर सडक निर्माणको जिम्मा पाएको सेनाले २७ किलो मिटरमा सडक निर्माण गरिरहेको र त्यस मध्ये १७ किलो मिटर सडकको निर्माण कार्य पुरा भएको जनाएको छ ।
प्रकाशित मिति: १२ जेष्ठ २०७६, आईतवार ११:५८