सुर्खेत, १२ असार । कर्णाली प्रदेश सरकारले अर्गानिक प्रदेश निर्माण गर्ने निति तथा कार्यक्रम ल्याएको छ । तर कर्णाली प्रदेशका किसानले भने उत्पादनमा दोव्वर बृद्धिहुने भएकाले रासायनिक मलनै प्रयोग गरेका छन् ।
गाउँघरमा प्राङ्गारिक मल कम हुने र उत्पादनमा पनि कमि आउने भएकाले प्राङ्गारिक मल भन्दा रासायनिक मल बढि प्रयोग गर्ने गरेको किसानहरुको भनाई छ । हाइव्रेड जातका वीउवीजनलाई रासायनिक मल उपयुक्त हुने र उत्पादन बढाउने भएकाले किसानहरुले बढि प्रयोगमा ल्याउने गरेका छन् ।
झन्डै एक बिगाहा जग्गामा खेती गर्दै आएका लाटीकोइलीका कृषक पदम ढकालले प्रांगारिक मल सबै खेतमा प्रयोग गर्न अपुग हुने भएकाले रासायनिक मल प्रयोग गर्न बाध्यता रहेको बताए । उनले युरियाले खेतीयोग्य जमिनको माटो विगार्ने भएपनि यसले उत्पादन बढी दिने भएकाले युरिया मल प्रयोग गर्ने गरेको बताए । उनले खेतिपातीमा रासायनिक मल बढि प्रयोग गर्ने गरेको बताए । अर्का कृषक मानबहादुर बुढाले युरीया मल सस्तो पर्ने र उत्पादनमा वृद्धि हुने भएकाले युरिया मल प्रयोग गर्ने गरेको बताए । डिएपी मलले फलाउने र बढाउने काम गर्ने र यूरियाले विरुवा बढाउने भएकाले मलहरुको प्रयोग गर्ने गरेको उनले बताए ।
यस वर्षमात्रै युरिया ५ सय ७३ मेट्रीक टन, डिएपि ३ सय ५९ मेट्रीक टन र पोटास ३१ टन खपत भइसकेको जिल्ला कृषि सामाग्री कम्पनी लिमिटेड उपशाखा सुर्खेतका उपशाखा प्रबन्धक बलबहादुर शाहले जानकारी दिए । उनले रासायनिक र युरिया मलको प्रयोगले मानब स्वास्थ्यमा असर गर्ने भएकाले पनि कृषकहरुलाई यि मल भन्दा पनि प्राङ्गारिक मल प्रयोग गर्ने जनचेतना फैलाउनुपर्ने आवश्यक रहेको बताए ।
जिल्ला कृषि सामग्री कम्पनी लिमिटेड उपशाखा सुर्खेतका उपशाखा प्रबन्धक बलबहादुर शाहले उत्पादन बृद्धि हुने भएपछि किसानहरु रासायनिक मलमा नै निर्भर हुन थालेको बताए । उनले किसानहरुमा रासायनिक मल प्रयोग नगरे उत्पादन नहुने भन्ने मानसिक्ता भएकाले पनि रासायनिक मल बढि प्रयोग हुने गरेको बताए ।
रासायनिक मल प्रयोगबाट हुने नोक्सानीका बारेमा सचेत गराई प्राङ्गारिक मल प्रयोग गर्ने तर्फ किसानलाई प्रोत्सहान गर्नुपर्ने उपशाखा प्रबन्धक शाहले जनाए ।
प्रकाशित मिति: १२ असार २०७५, मंगलवार १७:४९