काठमाडौं २८ पुस । कांग्रेसले राष्ट्रियसभा चुनावमा मधेसी दलसँग तालमेल गरेर उम्मेदवारी दिने तयारी गरेको छ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले गत सोमबार राजपा अध्यक्ष महन्थ ठाकुर र संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवसँग यस विषयमा कुराकानीसमेत गरिसकेका छन् ।
मधेसी गठबन्धनसम्बद्ध स्रोतका अनुसार देउवाले ठाकुर र यादवसँग राष्ट्रियसभामा सँगै जानसक्ने सम्भावनाका बारेमा छलफल गरेका थिए । ठाकुर र यादवले भने अहिल्यै निर्णय गर्नु हतारो हुने भन्दै समय आएपछि यस विषयमा छलफल गर्ने आश्वासन दिएका थिए । ‘अहिले नै हामी ठोस निष्कर्षमा पुगिसकेका छैनौं’, यादवले अन्नपूर्णसँग भने, ‘समय आएपछि सबै कुरामा विचार हुन सक्छ ।’
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनताका लोकतान्त्रिक गठबन्धन बनाएका कांग्रेस र मधेसी पार्टीले परिपक्व तालमेल गर्न सकेनन् । तर, कांग्रेसले ठाकुर र यादव उम्मेदवार भएको क्षेत्रबाट आफ्नो उम्मेदवारी फिर्ता लिएको थियो ।
कांग्रेस नेता बालकृष्ण खाँणले पनि राष्ट्रियसभामा मधेसी दलसँग मिलेर जाने तयारी भइरहेको बताए । ‘यसबारेमा अहिले नै ठ्याक्कै यही हो भन्न नसकिए पनि पुनर्विचारचाहिँ पक्कै हुन्छ’, खाँणले अन्नपूर्णसँग भने ।
यस्तै सम्भावना मधेसी गठबन्धनका नेताहरुले पनि औंल्याएका छन् । गठबन्धनका एक शीर्ष नेताका अनुसार प्रदेश २ मा समेत सरकार बनाउँदा कांग्रेसलाई समेट्ने कि भन्ने मोडेलमा गठबन्धनभित्र छलफल प्रारम्भ भएको छ । ती शीर्ष नेताका अनुसार मधेसी गठबन्धनले प्रदेश २ मा बहुमत ल्याए पनि कांग्रेसलाई समेटेको खण्डमा प्रदेशसभामा प्रतिपक्षी कमजोर हुनसक्ने आंकलनसहित कुराकानी अगाडि बढेको छ ।
आगामी माघ ७ देखि राष्ट्रियसभा निर्वाचन कार्यक्रम सुरु हुँदै छ । दलहरूले १० गते उम्मेदवारको मनोनयन गराउनुपर्ने छ । तर कांग्रेस नेताहरू प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्ने काम सकिएपछि मात्रै यस विषयमा छलफल गर्ने सुरमा छन् । राष्ट्रियसभा निर्वाचनको रणनीति कांग्रेस कार्यसम्पादन समिति बैठकले तय गर्ने नेता खाँणले बताए । ‘भर्खरै आयोगले कार्यतालिका सार्वजनिक गरेको छ’, उनले भने, ‘अब यसबारेमा पार्टीभित्र छलफल गर्न सम्भवतः सभापतिज्यूले कार्यसम्पादन समिति बैठक बोलाउनुहुन्छ ।’
प्रकाशित मिति: २८ पुष २०७४, शुक्रबार ०७:५७