सोल, २३ पुस (रासस/सिन्ह्वा) । उत्तर र दक्षिण कोरियाबीच हुन लागेकोे उच्चस्तरीय वार्ताको अन्तिम तयारी भइरहेको दक्षिण कोरियाली अधिकारीहरुले जानकारी दिएका छन् ।
उत्तर कोरियाले आफ्नो देशका तर्फबाट वार्ता गर्न सोल जाने टोलीका सदस्यको नाम आइतबार दक्षिण कोरियालाई पठाएपछि वार्ताको तयारी अन्तिम चरणमा पुगेको दक्षिण कोरियाको राष्ट्रिय एकीकरण मन्त्रालयले जानकारी दिएको छ ।
आइतबार सोलमा आयोजित पत्रकार सम्मेलनमा सो मन्त्रालयका प्रवक्ताले वार्ताका लागि दक्षिण कोरियाले अन्तिम तयारी जारी राखेको बताउनुभएको समाचारमा जनाइएको छ ।
दक्षिण कोरियाको राष्ट्रिय एकीकरण मन्त्रालयले उत्तर कोरियाको एक एजेन्सीका प्रमुख रहेका रि सुन गाउनको नेतृत्वमा सो वार्तामा सहभागी हुने उत्तर कोरियाली अधिकारीको नाम पठाएको बताएको छ ।
दक्षिण कोरियाले गरेको प्रस्तावअनुसार आगामी मङ्गलबार, जनवरी ९ मा यी दुई देशबीचको उच्चस्तरीय वार्ता हुने तयारी छ । वार्ताका लागि दक्षिण कोरियाले आवश्यक सबै तयारी गरेको र त्यो अन्तिम चरणमा पुगेको पनि सो मन्त्रालयले जनाएको छ ।
नयाँ वर्षको अवसरमा जनवरी १ मा उत्तर कोरियाली नेता किम जोङ उनले गर्नुभएको सम्बोधनपछि उक्त उच्चस्तरीय द्विपक्षीय वार्ताको वातावरण निर्माण भएको हो ।
साथै दक्षिण कोरियामा आयोजना हुन लागेको फेब्रुअरी महिनाको शीतकालीन ओलम्पिक खेलको पनि तयारी जारी रहेको सो मन्त्रालयले जानकारी दिएको हो।
दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले उत्तर कोरियाली नेताको सम्बोधनपछि नै वार्ताका लागि तयारी थाल्न सम्बद्ध अधिकारीलाई निर्देशन दिएका थिए ।
दुई वर्षपछि पहिलो पटक हुन लागेको यो उच्चस्तरीय वार्ताका लागि शनिबार दक्षिण कोरिया र आइतबार उत्तरले वार्तामा सहभागी सदस्यहरूको सूची आपसमा सार्वजनिक गरेका हुन् ।
प्रकाशित मिति: २३ पुष २०७४, आईतवार २०:०४