काठमाडौं, १ पुस । नेकपा एमाले अध्यक्ष केपी ओलीले सरकारले जनताको मतलाई अवमुल्यन गर्ने काम गरेको आरोप लगाएका छन् ।
निर्वाचनमा पराजित भईसकेपछि स्पष्ट बहुमत ल्याउने दललाई सत्ताको नेतृत्व हस्तान्तरण गरि जनताको मतको सम्मान गर्नुपर्नेमा सरकार अलोकतान्त्रिक ढंगमा अघि बढेको अध्यक्ष ओलीले दाबी गरे ।
शनिबार बालकोटस्थित आफ्नै निवासमा रिपोर्टर्स क्लबको प्रतिनिधि मण्डलसँग अध्यक्ष ओलीले नेपाली कांग्रेसले पराजित भईसकेपछि पनि अनेक बखेडा झिकेर सत्ता लम्बाउने प्रयास गरेको बताए । उनले राष्ट्रिय सभा गठन र सरकार गठन प्रक्रिया नै भिन्न भएकाले राष्ट्रिय सभा गठन नभई सरकार गठन हुदैन भन्नुले कांग्रेसको सत्ता लिप्सा स्पष्ट देखाएको ओलीको टिप्पणी थियो ।
अध्यक्ष ओलीले संविधान अनुसार एक तिहाई महिला पुर्याउनुपर्ने व्यवस्थाका कारण राष्ट्रियसभाको गठन नभई सरकार गठन हुन नसक्ने भन्ने तर्क युक्तिसंगत नभएको उल्लेख गरे । यस्ता अनावश्यक बखेडा झिक्नुले स्पष्ट रुपमा कांग्रेसको सत्ता लिप्सा देखिएको उनको दाबी थियो । २०६४ सालको दृष्टान्त दिदै ओलीले सत्ता हस्तान्तरणमा लिसो नबन्न पनि कांग्रेसलाई चेतावनी दिए । ।
नेकपा एमाले र माओवादी केन्द्रबीचको गठबन्धनले निर्वाचनमा बहुमत ल्याएको भन्दै उनले बहुमत ल्याएका आफुहरुले असंबैधानिक नियुक्तिबाट सपथग्रहण नगर्ने उद्घोष गरे । यही सरकारले प्रदेश प्रमुख नियुक्ति गर्ने तयारी गरिरहेका बेला अध्यक्ष ओलिले सरकालाई त्यसो नगर्न चेतावनी नै दिए । उनले निर्वाचन आयोगलाई पनि संविधान र कानुनको पालना गर्दै लोकतन्त्रको सम्मान गर्न सचेत गराए ।
अध्यक्ष ओलीले बामगठबन्धनको स्पष्ट बहुमत आएकाले मुलुकको आवश्यकता अनुसारको विकास सम्वृद्धि तथा जनआकांक्षा अनुसारका काम अघि बढ्ने विश्वास व्यक्त गरे ।
ओलीले एकल संक्रमणिय भनेर संविधानले नभनेकाले राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेशमा सो व्यवस्था राख्न नसकिने भन्दै क्षणिक र मौसमी तर्क नगर्न आग्रह समेत गरे ।
प्रकाशित मिति: १ पुष २०७४, शनिबार १४:०४