काठमाडौँ, २५ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा प्रमुख राजनीतिक दलले उम्मेदवार बनाउन कन्जुस्यार्इं गरे पनि अधिकांश महिलाले प्रत्यक्षमा विजय हासिल गरेका छन् ।

नेपालको संविधानले महिलालाई न्यूनतमरुपमा ३३ प्रतिशत स्थान सुरक्षित गर्नुपर्ने संवैधानिक व्यवस्था गरे पनि दलहरुले त्यसलाई कार्यान्वयन गर्न तयार देखिएनन् । हालसम्म घोषित परिणामअनुसार कमला रोका, पम्फा भुसाल, दुर्गा पौडेल, पवित्रा निरौला र बिना मगर निर्वाचित भएका छन् । निर्वाचित सबै वाम गठबन्धनका साझा उम्मेदवार हुन् ।
रोका पूर्वी रुकुम, भुसाल ललितपुर ३, पौडेल प्यूठान, निरौला झापा २ र मगर कञ्चनपुर १ बाट निर्वाचित भएका हुन् ।
पहिलो चरणअन्तर्गत प्रतिनिधिसभा सदस्यका लागि हुने चुनावमा प्रत्यक्षतर्फ न्यून महिला उम्मेदवार उठाएका प्रमुख तीन दलले दोस्रो चरणको चुनावमा भने तुलनात्मकरुपमा केही बढी महिला उम्मेदवार उठाएका थिए ।
प्रमुख राजनीतिक दलले कूल १६५ निर्वाचन क्षेत्रमध्ये १८ जनालाई मात्रै उम्मेदवार बनाएको थियो । प्रत्यक्षतर्फ उम्मेदवारी दिएकामध्ये भुसाल नेकपा (माओवादी केन्द्र)का प्रवक्ता छिन् । मगर र रोका भने सो पार्टीको पोलिटब्यूरो सदस्य हुन् । पौडेल जनमोर्चा नेपालका उपाध्यक्ष, पौडेल झापा एमालेका नेता छिन् ।
पहिलो चरणअन्तर्गत प्रतिनिधिसभा सदस्यका लागि ३७ क्षेत्रमा सम्पन्न भएको निर्वाचनमा नेपाली काँग्रेसले दुई र माओवादी केन्द्रले एक गरी जम्मा तीनजना मात्रै महिला उम्मेदवार बनाएको थियो । यसमध्ये पूर्वी रुकुमबाट माओवादी केन्द्रका उम्मेदवार रोका १० हजार ४३४ मत प्राप्त गरी विजयी भएकी हुन् ।
तर दोस्रो चरणअन्तर्गत १२८ क्षेत्रमा हुने चुनावमा प्रमुख तीन दलबाट १५ जना महिलाले बिहीबार उम्मेदवारी मनोनयन दर्ता गराउँदै चुनावी मैदानमा उत्रिएका थिए ।
दोस्रो चरणअन्तर्गत हुने प्रतिनिधिसभा सदस्य चुनावमा नेपाली काँग्रेसबाट सबैभन्दा बढी सातजना, नेकपा (एमाले)बाट पाँच र माओवादी केन्द्रबाट तीनजना महिलाको उम्मेदवारी परेको थियो ।
यसरी काँग्रेसबाट उम्मेदवारी दिनेमा तेह्रथुमबाट सीता गुरुङ, महोत्तरी–२ बाट किरण यादव, मकवानपुर–२ बाट महालक्ष्मी (डिना) उपाध्याय, काठमाडौं–३ बाट अम्बिका बस्नेत, दाङ–१ बाट सुशीला चौधरी, कैलाली–१ बाट ईश्वरीदेवी न्यौपाने र कैलाली–५ बाट डा आरजु राणा छिन् । उनीहरु सबै पराजित भएका छन् ।
यसैगरी नेकपा एमालेले झापा–२ बाट पवित्रा खरेल, सुनसरी–३ बाट भगवती चौधरी, उदयपुर–१ बाट मञ्जु चौधरी, स्याङ्जा–२ बाट पद्माकुमारी अर्याल र कैलाली–१ बाट गरिमा शाहलाई उम्मेदवार बनाएको थियो । खरेल विजयी भइसकेका छन् ।
वामगठन्धनकी साझा उम्मेदवार मञ्जु ५४८ मतान्तरले मात्रै पराजित भइन् । विजयी डा नारायण खड्काले ३३ हजार १४२ मत प्राप्त गरेका छन् । मञ्जुले ३२ हजार ५९४ मत प्राप्त गरीन् ।
सुनसरी ३ बाट वामगठबन्धका उम्मेदवार भगवती अहिले पनि काँग्रेसका उम्मेदवार विजयकुमार गच्छदारसँग प्रतिस्पर्धामा छिन् । उनले हालसम्म २६ हजार २१९ मत प्राप्त गरेकी छन् । गच्छदारले २५ हजार ६२० मत ल्याएका छन् । अझै २० हजार मत गन्न बाँकी रहेकाले भगवतिको विजय हुने सम्भावना भने बाँकी नै रहेको छ ।
यस्तै नेकपा माओवादी केन्द्रले ललितपुर–३ बाट भुसाल, पर्सा–४ बाट उर्मीला अर्याल र कञ्चनपुर–१ बाट मगरलाई उम्मेदवार बनाएको थियो । माओवादी केन्द्रका स्थायी समिति सदस्य समेत रहेकी अर्याल पराजित भएकी छन् ।
तीमध्ये कैलाली–१ मा महिला महिला उम्मेदवारबिच नै रोचक प्रतिस्पर्धा हुने ठानिएपनि त्यस्तो हुन सकेन । त्यस क्षेत्रमा काँंग्रेसका तर्फबाट ईश्वरीदेवी न्यौपाने र वाम गठबन्धनको तर्फबाट एमालेका गरिमा शाहले उम्मेदवारी दिएका थिए । यसअघि समानुपातिकबाट सांसद रहेका दुवै जना प्रत्यक्षबाट उम्मेदवारी दिएका थिए । तर दुवै उम्मेदवार राजपाका उम्मेदवार रेशम चौधरीभन्दा धेरै पछाडि छिन् ।
पहिलो चरणअन्तर्गत प्रतिनिधि सभा सदस्यका लागि हुने चुनावमा कांग्रेसले खोटाङबाट सरस्वती बजिमय र बागलुङ–१ बाट चम्पादेवी खड्का तथा माओवादीकी रोका पूर्वी रुकुमबाट उम्मेदवारी दिएका थिए । त्यसमध्ये रोकाले मात्रै विजयको झण्डा पहराइन् ।
समग्रमा प्रतिनिधि सभाको १६५ सिटका लागि प्रमुख तीन दलबाट पहिलो चरणमा तीन र दोस्रो चरणमा १५ गरी कुल १८ जना मात्रै महिला उम्मेदवारी परेको छ । जसमा सबैभन्दा बढी कांगे्रसबाट नौ जना र वाम गठबन्धनका एमालेका पाँच र माओवादी केन्द्रका चार जना गरी नौ जनाले उम्मेदवारी दिएका थिए ।
संविधानले संसदमा ३३ प्रतिशत महिला प्रतिनिधित्व अनिवार्य गरेकाले प्रत्यक्षतर्फ महिलाले टिकट कम पाएपछि अब सो संख्या समानुपातिकबाट क्षतिपूर्ति गर्नुपर्ने बाध्यता दललाई आउनेछ ।
ललितपुर–३ बाट विजयी माओवादी केन्द्रकी प्रवक्तासमेत रहेकी भुसालले आफूलाई ललितपुरका जनताले विश्वास गरेको र वामगठन्धनलाई चुनौतीसहितको जिम्मेवारी दिएको बताउँछिन् । यसअघि पनि विसं २०६४ को संविधानसभा चुनावमा आफूले सोही क्षेत्रबाट जितेको र यसपटक वाम गठबन्धन भएका कारण विजयी भएको उल्लेख गरीन् ।
उनले काँग्रेसका उम्मेदवार मदन अमात्यलाई पराजित गरीन् । भुसालले २४ हजार ३६ मत प्राप्त गरीन् । उनका प्रतिस्पर्धी अमात्यले २२ हजार ३२९ मत प्राप्त गरे । जितले आफू सधैँ सो क्षेत्रको विकास निर्माण र जनताको सुख, दुःखमा साथ दिएकाले जिम्मेवारी पनि दिएको बताइन् ।
महिलाको हकअधिकारको आवाज बुलन्द गर्नुका साथै महिलाले पनि देशको नेतृत्व लिन सक्षम छन् भन्ने देखिएको उनको भनाइ छ ।
मकवानपुर–२ बाट काँग्रेसको उम्मेदवार बनेकी काँग्रेस केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय (डीना) पराजित भइन् । उनी एमालेका उम्मेदवार विरोध खतिवडासँग पराजित भइन् । खतिवडाले ४४ हजार ७४४ मत प्राप्त गरेर विजय प्राप्त गर्दा उपाध्यायले ३२ हजार ५५८ मत प्राप्त गरे ।
कञ्चनपुरबाट मगर निकटतम प्रतिद्वन्द्वीभन्दा दोब्बर मतान्तरले विजयी भइन् । उनले मगरले ३८ हजार ४६७ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार दिवानसिंह विष्टले १९ हजार २१९ मत पाएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बिनाले दिवानभन्दा १९ हजार २४८ बढी मत पाएकी छन् । माओवादी केन्द्रका उम्मेदवार मगर पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी बुहारी हुन् ।
निर्वाचन प्रचार-प्रसारको समयमा उनका पति प्रकाश दाहालको असामयिक निधन भएपछि शोकमा परेकी मगरले आफूलाई कञ्चनपुरका जनताले जिताएर न्याय गरेको प्रतिक्रिया दिइन् । उनले सबै मतदातालाई धन्यवाद ज्ञापन गरेकी छन् ।
निर्वाचन प्रचारका क्रममा सार्वजनिक गरेको प्रतिवद्धतापत्रलाई मुख्य मार्गचित्र मानेर क्षेत्रको विकासमा लाग्नुपर्नेमा वाम गठबन्धनका उम्मेदवार एकमत रहेको नवनिर्वाचित सांसद मगरले बताइन् । ‘संसद र सिंहदरबारमा सक्रिय भूमिका निर्वाह गरेर आफ्नो क्षेत्रमा बढीभन्दा बढी बजेट र योजना ल्याउने र समयसीमाभित्रै प्रभावकारी कार्यान्वयन गराउने विषय मेरा लागि प्रमुख हुने छन्’ उनले भनिन् ।
‘हालसम्म विकासको अनुभूति गर्न नपाएको दुर्गम क्षेत्रको सेवा गर्ने मेरो संकल्प र विकास भएको देख्ने मतदाताको चाहना मेल खाएकै कारण मैले यतिधेरै मत पाएकी हुँ,’ उनले भनिन् ‘यतिधेरै मतदाताको विश्वास र साथ मेरा लागि एकातिर अवसर हो भने अर्काेतिर चुनौति पनि । तर, म आफ्नो दक्षता र क्षमताको भरपूर उपयोग गर्दै जनताको अपेक्षा पूरा गर्न निरन्तर खटिने प्रतिवद्धता जाहेर गर्दछु ।’
पूर्वी रुकुमबाट निर्वाचित रोकाले पनि जनताले दिएको अवसरलाई बढी भन्दा बढी सदुपयोग गरेर अगाडि बढ्ने बताएकी छन् । उता प्यूठानबाट विजयी पौडेलले ४७ हजार ५१५ मत प्राप्त गरीन् । उनका निकटतम् प्रतिस्पर्धी डा गोविन्दराज पोखरेलले ३१ हजार २८६ मत ल्याएका छन् । नवनिर्वाचित सांसद पौडेलले आफूलाई विश्वास गरेर विजयी गराउने सम्पूर्ण मतदाता, वामगठबन्धन तथा प्यूठानका सम्पूर्ण जनताको हितमा सधै प्रतिवद्ध भएर काम गर्ने बताइन् ।
प्रकाशित मिति: २५ मंसिर २०७४, सोमबार १६:३४