काठमाडौँ, २४ मंसिर: मुलुकको आर्थिक विकासका लागि क्रियाशील रहने घोषणपत्रमार्फत राजनीतिक दलले प्रतिबद्धता जाहेर गरेकामा खुसी व्यक्त गर्दै अब बन्ने सरकार मुलुुकको आर्थिक विकासका लागि समर्पित रहने अपेक्षा घरेलु तथा साना उद्योग महासंघले गरेको छ ।
निर्वाचनपश्चात मुलुक आर्थिक समृद्धिको मार्गमा अघि बढ्ने आशा गर्दै महासंघले प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो र दोस्रो चरणको निर्वाचन सफलतापूर्वक सम्पन्न भएकामा खुसी व्यक्त गरेको छ ।
यसैवर्ष सम्पन्न स्थानीय तहको निर्वाचन र हालै सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन पछि संविधानले परिकल्पना गरेको तीन तहको सरकारको व्यवस्था अब पूर्णतः कार्यान्वयनमा आउने विश्वास गरेको महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले बताएका छन् ।
“अस्थिर र थोरै समयमा सरकार परिवर्तन भई मुलुकको दिगो विकासमा नकारात्मक असर परेको छ, विगतको अनुभवको परिदृश्यमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको जारी मतगणनाले लामो समयपछि मुलुकमा स्थायी सरकार गठन हुने संकेत देखापरेको छ, उद्यमी व्यवसायी तथा सिंगो निजी क्षेत्रका लागि यो खुशीको विषय हो”–उहाँले विज्ञप्तिमा भनिएको छ ।
लाखौँ युवा वैदेशिक रोजगारीमा जान बाध्य भएको परिप्रेक्ष्यमा नेपालको आर्थिक समृद्धिको आधार र रोजगारी सिर्जनाको एउटा प्रमुख माध्यम लघु, घरेलु तथा साना उद्योग भएकाले अब बन्ने स्थिर सरकारले यस्ता उद्योगको विकास गर्नुपर्ने महासंघले आज जारी गरेको वक्तव्यमा उल्लेख छ ।
यस्ता उद्योगबाट हुने उत्पादन प्रवद्र्धनका लागि नीतिगत व्यवस्था गरी स्थानीय, प्रदेश र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रभावकारी कदम चाल्न आवश्यक रहेकामा महासंघले जोड दिएको छ ।
प्रदेश सरकार र स्थानीय सरकारले पनि समुन्नतिका लागि स्थानीय कला, संस्कृतिको सम्वद्र्धन र संरक्षण गर्दै स्थानीयस्तरमा पाइने कच्चा पदार्थमा आधारित लघु, घरेलु तथा साना उद्योगको विकास गर्नुपर्ने महासंघको माग छ । यस्ता उद्योग प्रवद्र्धनका लागि काम गर्न महासंघले आग्रह गर्दै सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएको छ ।
प्रकाशित मिति: २४ मंसिर २०७४, आईतवार २०:४२