काठमाडौँ, ७ असार । विसं १९३५ मा हुलाकघरका रुपमा सेवा सुरु गरेको हुलाक सेवा विभागले समयको परिवर्तनसंगै सेवा पनि विस्तार गर्दै लगेको छ ।
सर्वसाधारणको अत्यावस्यक सेवामा परेको हुलाक सेवा इन्टरनेट तथा इमेलले ओझेलमा पारेपनि यसले दिने अन्य सेवा भने बढ्दै गएको छ ।
विभागले आर्थिक वर्ष २०७१-७२ मा रु २५ करोडको टिकट बिक्री गरेकामा आव २०७२-७३ मा रु ३५ करोडको टिकट बिक्री गर्न सफल भयो । विभागका केन्द्रीय टिकट भण्डार व्यवस्थापक नारायणप्रसाद पौडेलले व्यक्तिगत चिट्ठीपत्रको आदान प्रदानमा केही कमी आए पनि पार्सल, निवेदन तथा टिकटको सङ्कलन भने अत्यधिक बढ्दै गएको जानकारी दिए ।
निवेदनमा हाल रु पाँचदेखि रु १० सम्मको टिकट प्रयोग गरिन्छ भने एउटा पार्सलमा रु चार हजारदेखि रु २० हजारसम्मको टिकट प्रयोग हुन्छ । त्यस्तै, जीवन बीमाजस्ता बीमाको क्षेत्रमा रु १० लाखसम्मको जीवन बीमामा रु १० तथा रु २० लाखसम्मको जीवन बीमामा रु २० को टिकट टाँस्नुपर्ने व्यवस्था छ । देशभर तीन हजार ९९२ वटा कार्यालयमार्फत १९ हजार ४६३ कर्मचारीले सेवा प्रदान गर्दै आएको विभागमा सन् २०१२ मा तीन हजार ३२१ वटा पार्सल विदेश पठाइएकामा यो सङ्ख्यामा वृद्धि भई सन् २०१६ सम्म आइपुग्दा १६ हजार ६३५ वटा पार्सल बाहिरिएकोे थियो ।
त्यस्तै, सन् २०१२ मा विदेशबाट १३ हजार ५९५ वटा पार्सल प्राप्त भएकामा २०१६सम्म आइपुग्दा यो सङ्ख्या घटेर १२ हजार ६७५ मा सीमित भएको थियो । सन् १९९५ सुरु भएको अन्तर्राष्ट्रिय (इएमएस) एक्सप्रेस मेल सर्भिसअन्तर्गत सन् २०१२ देखि सन् २०१६ सम्ममा ४९ हजार १५५ वटा सेवा कारोबार भएको थियो । सो सेवाबाट सन् २०१२ मा रु तीन करोड ३५ लाख ७० हजार २४६ राजस्व सङ्कलन भएको थियो भने सन् २०१६ आइपुग्दा रु चार करोड ५६ लाख १७ हजार १०० आम्दानी भएको थियो ।
विभागले पोस्ट बक्स अनलाइन सर्भिस, पोस्टल फाइनान्सियल सर्भिस, मोनेटरी ट्रान्सफर्मर, पोस्टल सेभिङ बैंक सर्भिसजस्ता सेवा पनि उपलब्ध गराउँदै आएको छ । बैंकिङ सेवामा दुर्गम क्षेत्रसहित देशभरिबाट बैंकमा बचत गर्ने मानिसको सङ्ख्या अत्यधिक बढ्दै गएको उनको भनाइ थियो ।
व्यवस्थापक पौडेलले विभागले विशेषगरी ऐतिहासिक महत्वसहित हिमाल, पहाड, जनजातिको वेशभूषा तथा अन्तर्राष्ट्रिय खेलकुद आदिको क्षेत्रमा वर्षको एक पटक सार्वजनिक आह्वान गरेर टिकट प्रकाशन गर्ने गरेको बताए । स्वयम्भू, पशुपतिनाथ, मनकामना केबुलकारजस्ता सम्पदाको टिकट प्रकाशन गर्दै आएको उनले जानकारी दिए । सन् २०१६ मा नेपालका बाघे खपटे, सुनौलो सिँगे खपटेजस्ता किरा, हिमाली क्षेत्र, प्रथम सहिद लखन थापा, राजनीतिज्ञ बलबहादुर राई, महेन्द्रनारायण निधि, गुराँस, गोरखापत्रको दैनिककको प्रथम अङ्क, नेपाल–बेलायत सम्बन्धको २०० वर्ष आदिको टिकट प्रकाशन गरेको थियो ।
टिकटको कारोबारको सम्बन्धमा व्यवस्थापक पौडेलले भने, “आर्थिक वर्ष २०७३÷७४ मा रु २२ करोडको टिकट बिक्रीका लागि बजारमा पठाइएको र अझै यो महिनाका लागि पनि टिकट पठाउन बाँकी छ ।” रासस
प्रकाशित मिति: ७ असार २०७४, बुधबार १३:०९