काठमाडौँ, १७ भदौ -पूर्वराजाहरूले वितरण गर्न नभ्याउनुभएका ३५ हजार ६८० थान विभिन्न मानपदवीलाई ललितपुरको घरेलु तथा साना उद्योग कार्यालयको जिम्मा लगाइएको छ ।
राजसंस्था अन्त्यपछि विभूषण तथा पदक नारायणहिटी दरबार परिसरमा रहेको पूर्वराजाहरूको निजी सचिवालयको बन्द कोठामा थियो । गृह मन्त्रालयले ती पदक सो कार्यालयलाई हस्तान्तरण गरेको छ ।
सो कार्यालयले बुझेर लिएका ती विभूषण तथा पदक कसरी प्रयोग गर्ने भन्नेबारेमा निर्णय भइसकेको छैन । निर्णय हुन नसक्दा ती विभूषण तथा पदक केही दराजमा राखिएका छन् भने केही बोरामा पोको पारेर भुइँमा थन्क्याइएको छ । ती मानपदवी सोही कार्यालयले निर्माण गरेको थियो । गोरखापत्र दैनिकमा खबर छ ।
कार्यालयका प्रमुख उद्योग अधिकृत रोशनीकुमारी श्रेष्ठले ती विभूषण तथा पदकको व्यवस्थानका लागि कार्यसञ्चालन समिति गठन भएको जानकारी दिँदै भन्नुभयो, “तिनलाई के गर्ने भन्ने निर्णय नहुन्जेल यसैगरी थन्क्याई राख्नेछौँ । ” विगतमा तिनलाई सङ्ग्रहालयमा राख्ने भन्ने चर्चा चलेको थियो ।
तीमध्ये सबैभन्दा मुख्य महेन्द्रमाला एक थान छ । त्यसबाहेक गोरखा दक्षिण बाहु लगायतका छन् भने सबैभन्दा बढी दैवीप्रकोपसम्बन्धी पदक छन् । सुन, चाँदीका विभूषण छन् भने अधिकांश निकल, तामालगायतका धातुका पदक छन् ।
दरबारले प्रयोगमा नल्याएको १५ केजी कच्चा चाँदी र ३० ग्राम सुन पनि कार्यालयमा ल्याइएको छ । यस वर्षका लागि घोषणा गरिएको विभूषण तयार गर्न सरकारले सुन, चाँदी लगायतका धातु खरिद गर्न सो कार्यालयलाई अझै रकम उपलब्ध गराएको छैन । कार्यालयका प्रमुख उद्योग अधिकृत श्रेष्ठले यस वर्षका लागि विभूषण तयार गर्न तत्कालका लागि दरबारबाट ल्याइएको कच्चा चाँदी र सुन नै प्रयोग गरिरहेको बताउनुभयो ।
कार्यालयका कर्मचारीहरू दरबारबाट ल्याइएका ती विभूषणमा प्रयोग गरिएका सुन चाँदी काम लाग्ने भए पनि पगाल्दा बढी खेर जाने बताउँछन् । केही विभूषण तथा पदकमा सुन चाँदीका जलप लगाइएका पनि छन् ।
प्रकाशित मिति: १७ भाद्र २०७३, शुक्रबार ०७:५५