काठमाडौँ, १७ भदौ । तोकिएको समयमा मेलम्ची खोलाको पानी काठमाडौँ उपत्यकामा ल्याउने सम्भावना बढेको छ । कामको गति र तोकिएको अवधि हेर्दा समयमै पानी आउन सक्ने सम्भावना देखिएको हो ।
हाल १९ किलोमिटर सुरुङ निर्माण सम्पन्न भएको छ । जम्मा २७.५ किमी सुरुङ निर्माण गर्नुपर्नेमा अब ८ किमी मात्र बाँकी छ । समितिका अनुसार अगस्ट महिनामा सबैभन्दा धेरै १ किमी सुरुङ खनिएको छ ।
यही गतिमा महिनाको १ किमी सुरुङ खनियो भने पनि ८ महिनामा सुरुङ सम्पन्न हुनेछ । तोकिएको मिति अझ १२ महिना बाँकी छ । अर्थात् २०७४ असोज महिना पानी ल्याउने मिति हो ।
दैनिक ३५ मिटरका दरले सुरुङ खनिएको समितिका उपकार्यकारी निर्देशक रमाकान्त दुवाडीले बताउनुभयो । उहाँले भन्नुभयो, “२०७४ असोज महिनाभित्र मेलम्चीको पानी काठमाडौँ आउने कुरामा अब शङ्का छैन, तोकिएको समयमा काम सकिन्छ । ” उहाँका अनुसार सुन्दरीजल र सिन्धु जोडिनलाई अब १ किमी मात्र बाँकी छ, त्यसपछि अझ सहज हुनेछ ।
निर्माण कम्पनीसँगको सम्झौता अनुसार २०७३ असोज महिनासम्ममा सुरुङ निर्माणको काम सम्पन्न गरिसक्नुपर्ने थियो तर भूकम्प र नाकाबन्दीका कारण ६ महिना काम हुन सकेन । सोही कारण देखाउँदै निर्माण कम्पनीले एक वर्ष म्याद थप गर्न समितिलाई निवेदन दिएपछि समितिले तत्काल अन्तरिम रूपमा ६ महिना म्याद थपेको छ । कामको प्रकृति हेर्दा एक वर्ष थप गर्नुपर्ने सम्भावना रहेको समितिले जनाएको छ । गोरखापत्र दैनिकमा खबर छ ।
मेलम्चीको पानी काठमाडौँ उपत्यकामा आइसकेपछि प्रशोधन, भण्डारण तथा घर–घरमा वितरणका लागि पाइपलाइनको काम पनि तीव्र पारिएको छ । उपआयोजना–२ अन्तर्गतको पाइपलाइन विस्तारको कार्य पनि सोही समयअघि नै सम्पन्न गरिनेछ । आयोजना कार्यान्वयन निर्देशनालयले पहिलो चरणमा वितरण सञ्जाल सुधारमा ५ सय किमी पाइपलाइन बिच्छ्याएको छ । ३ सय किमी बिच्छ्याउन बाँकी छ । निर्देशनालयका प्रवक्ता लीला ढकालले भन्नुभयो, “६० प्रतिशत काम सम्पन्न भइसकेको छ, ०७४ असोजभित्रै हामीले काम सम्पन्न गर्छौं, त्यही लक्ष्य अनुसार काम भएको छ, हामी समयमै काम गर्न सक्छौँ । ”
निर्देशनालयका अनुसार मेलम्चीबाट सुरुङ मार्ग हुँदै सुन्दरीजलमा आउने पानीलाई सोही स्थानमा प्रशोधन गरी उपत्यकाका विभिन्न स्थानमा वितरण गरिनेछ । सुन्दरीजलबाट प्रमुख वितरण लाइन हुँदै चक्रथपका विभिन्न स्थानमा पानी टङ्की निर्माणको काम भइरहेको छ ।
काठमाडौँको आरुबारी, महाङ्कालचौर, बाँसबारी, पानीपोखरी, बालाजु र ललितपुरको खुमलटारमा पानी सङ्कलन केन्द्रको निर्माण भइरहेको प्रवक्ता ढकालले जानकारी दिनुभयो ।
थोक वितरण प्रणालीतर्फ सुन्दरीजलदेखि महाकाङ्ल चौरसम्म १४ सय मिलिमिटर ब्यासको ९.५ किमी बिच्छ्याउने काम भएको छ । आयोजनाले ८३ हजार ५ सय ४९ वटा धारा जडान गर्नुपर्नेछ । हालसम्म २४ हजार ४ सय ५० धारा जडान गरिसकेको छ ।
मेलम्चीको पानी घरघरमा पुगेपछि ८० प्रतिशत पानी फोहोर पानीका रूपमा बाहिर आउने समितिले जनाएको छ । त्यसको व्यवस्थापनका लागि पनि आयोजना सञ्चालन भइरहेका छन् । फोहोर पानी प्रशोधन केन्द्र, नदी किनारमा मुख्य ढललाइन र फोहोर पानी सङ्कलन शाखा पनि निर्माण हुनेछन् । गुह्येश्वरी, सल्लाघारी, कोडकु, धोबीघाटलगायतका क्षेत्रमा प्रशोधन केन्द्र निर्माण गरिनेछ । साथै, ढल प्रशोधन केन्द्रबाट बायोग्यास र विद्युत् उत्पादन गरिनेछ । गुह्येश्वरीबाट २ सय ४० किलोवाट विद्युत् उत्पादन हुने बताइएको छ ।
मेलम्चीबाट पहिलो चरणमा दैनिक १७ करोड लिटर पानी आउने छ तर दोस्रो चरणको परियोजना सुरु भए पनि याङरी र लार्के खोलाको पानी पनि सोही सुरुङबाट ल्याएपछि दैनिक ५२ करोड लिटर पानी आउने छ । याङरी र लार्के खोलाको पानी मेलम्चीको सुरुङ मार्गमा मिसाउन थप ९ किमी सुरुङ खन्नुपर्ने हुन्छ । समितिका अनुसार सन् २०१८ देखि २२ सम्ममा याङरी र लार्के खोलाको पानी पनि आउने छ ।
प्रकाशित मिति: १७ भाद्र २०७३, शुक्रबार ०७:४७