नेपालसहित भुटान, बङ्गलादेश, दक्षिण कोरिया, माल्दिभ्स, अफगानिस्तान, पाकिस्तान, भारत र श्रीलङ्काका निर्वाचन आयुक्त तथा आयोगमा कार्यरत वरिष्ठतम कर्मचारीका सहभागिता रहेको छ । गोष्ठीमा निर्वाचनका समयमा आइपर्ने विवादलाई सहभागी देशले कसरी सुल्झाए र निर्वाचनलाई विश्वसनीय बनाए भन्ने अनुभवको आदानप्रदानका साथै आगामी दिनमा आइपर्ने निर्वाचनसम्बन्धी न्यायिक विवादका बारेमा छलफल हुनेछ ।
निष्पक्ष र विश्वसनीय निर्वाचनले प्रजातन्त्र बलियो हुन्छः प्रन्या कार्की
प्रधानन्यायाधीश सुशीला कार्कीले गोष्ठीको उद्घाटन गर्दै स्वच्छ, निष्पक्ष र विश्वसनीय निर्वाचनले प्रजातन्त्रलाई बलियो बनाउने बताए । उनले निर्वाचनलाई विवादरहित बनाउन निर्वाचन न्याय महत्वपूर्ण हुने उल्लेख गर्दै निर्वाचनको विश्वसनीयता बढाउन सबै क्षेत्रको सामूहिक प्रयास आवश्यक भएको बताए ।
प्रन्या कार्कीले भने – “नेपाल नयाँ संविधान कार्यान्वयनको चरणमा छ । संवैधानिक व्यवस्थाअनुरुप स्थानीयदेखि राष्ट्रिय तहका निर्वाचन समयसीमाभित्र सम्पन्न हुनुपर्छ ।”
प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले नयाँ संविधानका प्रावधानअनुसार निर्वाचन आयोगले स्थानीय, प्रदेश÷सङ्घ, केन्द्रीय तहमा निर्वाचन गर्न कार्ययोजना बनाई काम सुरु गरेको जानकारी दिए ।
उनले निर्वाचनलाई विश्वसनीय बनाउन निर्वाचन विवादलाई निष्पक्षरुपमा निरुपण गर्न तथा निर्वाचन न्यायलाई सर्वग्राह्य बनाउन आयोगले ध्यान दिएको बताए । निर्वाचनका लागि प्राविधिक संरचनाका साथसाथै कानुनी संरचना बलियो बनाउनुपर्ने उनको धारणा थियो ।
प्रमुख निर्वाचन आयुक्त डा यादवले भने– “सन् २००८ र २०१३ मा नेपालमा सम्पन्न भएका संविधानसभाको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय रुपमा सम्पन्न गर्न आयोगले उत्कृष्ट कार्य सम्पादन गरेको थियो, जुन विश्वले समेत प्रशंसा गरेका थिए ।”
निर्वाचन आयुक्त इला शर्माले बलियो निर्वाचन पद्धतिले नै प्रजातन्त्रलाई नै बलियो बनाउने हुँदा निर्वाचन विवाद तथा निर्वाचन न्यायलाई विश्वसनीय बनाउनुपर्छ भने ।
आयोगका सचिव शारदाप्रसाद त्रितालले निर्वाचन विवाद निरुपण तथा निर्वाचन न्यायका विषयमा क्षेत्रीय अनुभव आदान प्रदान गर्न गोष्ठी आयोजना गरिएको जानकारी दिए ।
गोष्ठीको पहिलो सत्रमा सन् २००८ मा नेपालको पहिलो संविधानसभाको निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित रुपमा सम्पन्न गर्न निर्वाचन आयोगको नेतृत्व गर्नुभएका पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले निर्वाचनका समयमा आइपर्ने विवाद तथा निर्वाचन न्यायका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
रासस