काठमाडौ १७ जेठ- साझा यातायातका अध्यक्ष कनकमणि दीक्षित र उनको परिवारको नाममा रहेको १८ रोपनी गैरकानुनी जग्गा सरकारको नाममा ल्याउन अख्तियारले भूमिसुधार तथा व्यवस्था मन्त्रालयलाई निर्देशन दिएको छ ।
रानी जगदम्बाकुमारी राणाबाट सरकारको नाममा आउनुपर्ने जग्गा दीक्षित परिवारले आफ्नो नाममा सारेको प्रमाणसहित अख्तियारले आइतबार मन्त्रालयलाई निर्देशन दिएको स्रोतले जनाएको छ ।
मदन पुरस्कार पुस्तकालय र जगदम्बा प्रेसका नाममा रहेको जग्गा मात्र होइन, पाटन क्याम्पसको नाममा रहेको जग्गा पनि दीक्षित परिवारले आफ्नो नाममा सारेको अख्तियारको दाबी छ ।
पुल्चोकस्थित अत्यन्तै महँगो क्षेत्रमा रहेको सरकारी जग्गा व्यक्तिले लुकाएर राखेको भेटिएपछि तत्काल फिर्ता गराउन निर्णय गरिएको अख्तियारको दाबी छ ।
दीक्षित परिवारको स्वदेश तथा विदेशमा रहेको थप अकुत सम्पत्तिमाथि छानबिन भइरहेको स्रोतले जनाएको छ ।
जगदम्बाले सरकारलाई दिएको जग्गा पुल्चोकस्थित श्रीदरबार, श्रीमहल परिसर र उपत्यकाको विभिन्न स्थानमा रहेका पाँच सय ९८ रोपनी जग्गामध्ये ५८ रोपनी जग्गा आफूले राखेर रानी जगदम्बाले बाँकी सम्पूर्ण जग्गा सरकारका नाममा कायम गरिदिन स्वेच्छिक घोषणा गरेकी थिइन् ।
०२१ मा भूमिसुधार ऐन लागू भएपछि हदबन्दीभन्दा माथि रहेको जग्गा सरकारको नाममा कायम गरिदिन रानी जगदम्बाले घोषणा गरेकी थिइन् ।
तर, दीक्षित परिवारले हात पार्यो
रानी जगदम्बाले आफ्ना वारेस लक्ष्मीप्रसाद देवकोटामार्फत ०१८ मा नै पाटन क्याम्पसलाई चन्दास्वरूप दिने भनी घोषणा गरेको पाँच रोपनी दुई पैसा जग्गासमेत दीक्षित परिवारले लुकाएको देखिएको छ । दीक्षित परिवारले सो जग्गामध्ये दुई रोपनी एक आना तीन पैसा जग्गा जगदम्बा प्रेसका नाममा र दुई रोपनी ६ आना जग्गा मदन पुरस्कार पुस्तकालयका नाममा गैरकानुनी रूपले नामसारी गरी लुकाएको पाइएको हो । रानी जगदम्बाको नाममा त्यति नै वेला प्रेस थियो ।
त्यस्तै रानी जगदम्बाले सरकारको नाममा दिने भनी घोषणा गरेको जग्गामध्ये कित्ता नम्बर ८६ बाट दीक्षित परिवारका मुली कमलमणि दीक्षितले कित्ताकाट गर्दै क्रमश: आफ्ना बहिनीज्वाइँ चन्द्रशेखर ज्ञवालीलाई १० आना र स्वयं कमलमणिले आफ्ना नाममा चार रोपनी नौ आना तीन पैसा जग्गा अनधिकृत दर्ता कायम गरेकोसमेत छानबिनका क्रममा पाइएको छ ।
जालसाजी गरी हात पारेको सो जग्गामध्ये कमलमणि दीक्षितले होटेल ओएसिसको नाममा दुई रोपनी ११ आना तीन पैसा, छोरा कुन्दमणि दीक्षितको नाममा दुई रोपनी आठ आना र कनकमणि दीक्षितका नाममा एक रोपनी १३ आनासमेत हक हस्तान्तरण गरेको पाइएको छ । होटेल ओएसिस दीक्षित परिवारकै स्वामित्वमा छ । क
मलमणि आर्फैँले दाबी गरेका थिएनन्
त्यसरी नै कमलमणि दीक्षितले ललितपुरस्थित भूमिसुधार कार्यालयमा २ माघ ०२१ मा आफ्नो अचल सम्पत्ति घोषणा गर्ने क्रममा फाँटवारी पेस गर्दा रानी जगदम्बाट लिएको २४ रोपनी जग्गामध्ये आफू र आफ्नो परिवारको नाममा १२ रोपनी जग्गा मात्र भएको विवरण पेस गरेको अख्तियारको छानबिनमा देखिएको छ । भूमिसुधार ऐनअनुसार ७ नम्बर फाँटवारीमा उल्लेख नगरेको त्यस्तो जग्गा सरकारले अनिवार्य जफत गर्ने प्रावधान छ ।
अख्तियार स्रोतका अनुसार दीक्षित परिवारले लुकाएको जग्गामध्ये अर्को भूमिसम्बन्धी ऐन २०२१ बमोजिम हदबन्दीभन्दा बढी भई नेपाल सरकारका नाममा कायम हुनुपर्ने दुई रोपनी सात आना जग्गा कमलमणि दीक्षितका बहिनीज्वाइँ चन्द्रशेखर ज्ञवालीका नाममा गैरकानुनी दर्ता भएको पाइयो । ज्ञवालीबाट उक्त जग्गा ०३८ मा होटेल नारायणी प्रालि पुल्चोकको नाममा र होटेल नारायणीबाट ०४२ मा होटेल ओएसिस प्रालि पुल्चोकको नाममा पुन: हक हस्तान्तरण भएको पाइएको छ । मदनशमशेरका दुई रानीमध्ये जेठी जगदम्बा हुन् भने कान्छी माणिक देवी हुन् । माणिकदेवीको तर्फबाट मात्रै सन्तान जन्मिएका थिए ।
उनका दुई छोरा क्रमश: गोपालशमशेर र यज्ञराजशमशेर थिए भने एक छोरी प्रीतिदेवी राणा थिइन् । मदनशमशेरको सन् १९५३ जुन २० मा वनारसमा निधन भएको थियो । उनको निधनपछि दीक्षित परिवारले उनको सम्पत्ति गैरकानुनी रूपमा हात लिएका थिए । त्यस क्रममा उनीहरूले रानी जगदम्बाका सौतनी सन्तानहरूलाई स्वाभाविक अंश प्राप्तिको अधिकारबाट वञ्चित गर्दै आफू र आफ्ना नातेदारका नाममा स्वर्गीय मदनशमशेरको चलअचल सम्पत्ति हात पारेका थिए । नयाँ पत्रिका दैनिकमा खबर छ ।
प्रकाशित मिति: १७ जेष्ठ २०७३, सोमबार ०६:५४